काठमाडौं- कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन्। मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एवं पूर्वतयारीका कार्यबारे मन्त्री भट्टराईले निर्देशन दिएका हुन्।
आइतबार मन्त्री भट्टराईको संयोजकत्वमा बसेको बैठकले मातहतका सबै निकायलाई सबै तयारीका लागि निर्देश गरेको हो। बैठकमा मन्त्रालयका सचिव, सह सचिवहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका निगमका महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख, अध्यागमन विभागका महानिर्देशक लगायत सरोकारवाला निकायका उच्च अधिकारीहरुको उपस्थिति थियो।
बैठकका निर्णय
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्य्भ तथा जनसंख्या मन्त्रालयबाट डा हेमन्तचन्द्र ओझा, त्रिवि अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअरलाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने। यस कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने/गराउने।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुले स्वास्थ्य जाँचको डेक्स पार गरी जानुपर्ने प्रावधान सम्बन्धी सूचनामूलक जानकारी अनिवार्य रुपमा जहाज अवतरणको क्रममा अन बोर्ड र आगमन तथा प्रस्थान कक्षबाट निरन्तर रुपमा प्रवाह गर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तत्काल मिलाउने।
- सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न उक्त मन्त्रालयलाई अनुरोध गर्ने।
यस भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले पेस गर्ने।