काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा उपनिर्देशकको जिम्मेवारी पाएका डा रविन खड्काले अझै पनि पत्र बुझेका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फागुन ८ गते जिम्मेवारी हेरफेर गर्दै उनलाई वीर अस्पतालको उपनिर्देशकको जिम्मेवारी दिएका थिए। सोही दिन जिम्मेवारी हेरफर भएका अरु सबैले पत्र बुझेर जिम्मेवारी सम्हालिसकेका छन्। तर, खड्काले भने अझै पत्र लिएका छैनन्।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार खड्काले लामो समय दुर्गममा सेवा गरेको र संघ अन्तर्गतकै अस्पतालको निर्देशक समेत भइसकेकाले कार्यकारी अधिकार नभएको उपनिर्देशकको जिम्मेवारी लिन आनाकानी गरेका हुन्।
डा खड्काले यसअघि चितवनस्थित भरतपुर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। भरतपुर अस्पताल संघीय सरकार अन्तर्गतकै अस्पताल हो। यस्तै उनले कालिकोट, दैलेख, हुम्ला लगायतका जिल्लामा लामो समय काम गरेका छन्। जिम्मेवारी हेरफर हुने समयमा उनी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत थिए।
‘उहाँलाई वीर अस्पतालको उपनिर्देशकको पदमा नियुक्ति त गरियो तर, त्यहाँ कार्यकारी अधिकारको विषयमा भने अस्पष्टता छ,’ ती कर्मचारीले भने, ‘त्यही भएर उहाँले अधिकारका विषयमा अन्यौलता भएका कारण पत्र लिन आनाकानी गर्नुभएको हो भन्ने हाम्रो बुझाई छ।’
स्वास्थ्यखबरले यसविषयमा राखेको जिज्ञासामा डा खड्काले पत्र बुझिनसकेको स्विकार गर्दै छोटो प्रतिक्रिया मात्र दिए। भने, ‘पत्र लिन भ्याएको छैन। यो विषयमा विस्तृतमा पछि कुरा गरौँला।’