काठमाडौं- सरकारले स्वास्थ्य सचिव खगराज बरालको सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासन तर्फका सचिव बराललाई सरुवा गर्ने निर्णय गरेको हो।
स्वास्थ्यमा दुई जना सचिव रहने व्यवस्था छ। स्वास्थ्य सेवा तर्फको सचिव भने रिक्त रहेको छ। डा पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा जागिर खान गएपछि स्वास्थ्य तर्फको सचिव पद रिक्त रहेको हो।
मन्त्रिपरिषदले बराललाई सरुवा गरेर उपराष्ट्रपति कार्यालयमा पठाएको छ।
यस्तै बरालको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई ल्याउने निर्णय भएको बताइएको छ।
बराल स्वास्थ्यमा गत भदौमा सरुवा भएर आएका थिए। शिक्षा मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका बरालले भदौ ९ गते पदबहाली गरेका थिए।
यो सँगै डेढ वर्षको अवधिमा स्वास्थ्यमा पाँचौ सचिवका रुपमा कोइराला प्रवेश गर्दै छन्।