डा तीर्थमान श्रेष्ठ
प्राचीनकालदेखि नै महको उपयोग पौष्टिक आहार, विभिन्न रोगको औषधि, यौनवर्धक टोनिक तथा मनोदीपक औषधिको रुपमा हुँदै आएको देखिन्छ। पहिले–पहिले जंगली माहुरीले रुख, पहरा वा चट्टानमा चाका बनाई जम्मा गरेको मह मानिसले खाने गर्थे। तर हाल आएर आधुनिक तरिकाले माहुरी पालन गर्न थालिएको छ।
अहिले पनि यदाकदा जंगली महको प्रयोग हुने गरेको देखिन्छ। यस्तो जंगली मह (जसलाई भिर मह पनि भनिन्छ) नेपालमा मात्र नभई विश्वका अन्य देशमा समेत यस्तो महको प्रयोग भइराखेको देखिन्छ।
जंगली महको विषाक्तता
जंगली माहुरीले जंगलमा फुल्ने विभिन्न प्रकारका फूलको गुलियो रस चुसेर मह बनाउने गर्छन्। यस क्रममा केही प्रजातिका लालिगुराँस, जसको रसमा एक प्रकारको हानिकारक रसायन मिसिएको हुन्छ। उक्त रसायन पनि रससँगै चुसेर लगी मौरीले मह बनाउँछन्। यदि उक्त रसायन मिसिएको मह खाइयो भने रक्तसञ्चार प्रणाली, पाचन प्रणाली, केन्द्रीय स्नायु प्रणाली तथा श्वासप्रश्वास प्रणालीमा हानिकारक असर पर्छ। उक्त रसायन मिसिएको महलाई जंगली महको नामले पनि चिनिन्छ।
जंगली मह खाएर कहिलेकाहीँ मानिसहरु अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने गरेका छन्। जंगली महको विषाक्तता भएको कुरा बिरामीमा देखिएको लक्षण तथा चिह्नहरु तथा बिरामीसँग वा बिरामीको आफन्तसँग लिइएको इतिहासबाट मात्र थाहा पाउन सकिन्छ। सोही विषयमा पाठकहरुलाई जानकारी गराउनु नै यस लेखको मुख्य उद्देश्य रहेको छ।
जंगली महको विषाक्तताका लक्षण
१. रक्त सञ्चार प्रणाली सम्बन्धी लक्षण
क) रक्तचाप कम भई रिंगटा लाग्ने, बेहोस हुने
ख) मुटुको चाल गडबडी हुने। जस्तैः मुटुको चाल कम हुने
ग) रक्तनलीहरुमा अवरोध हुने वा पूर्ण रुपमा रक्तनली बन्द हुने आदि।
२. श्वासप्रश्वास प्रणाली सम्बन्धी लक्षण
क) श्वासप्रश्वास प्रक्रियामा अवरोध हुने,
ख) श्वास फेर्न गाह्रो हुने।
३.केन्द्रीय स्नायु प्रणाली सम्बन्धी लक्षण
क) हातखुट्टा झमझम गर्ने
ख) होस गुमाउने वा बेहोस हुने
ग) कम्पन हुने, रिंगटा लाग्ने
घ) उभिन गाह्रो हुने
ङ) टाउको दुख्ने, एउटै वस्तु दुई वटा देखिने आदि।
४. पाचन प्रणाली सम्बन्धी लक्षण
क) वाकवाकी लाग्ने वा बान्ता हुने
ख) धेरै र्याल आउने
ग) पेट भारी हुने आदि।
उपचार
जंगली महको विषाक्तताको विशेष खालको उपचार हुँदैन। केवल लक्षणिक उपचार मात्र गर्न सकिन्छ।
जंगली महको विषाक्तता भएर हस्पिटल आएका बिरामीको रक्तचाप धेरै घटेको छ र मुटुको चाल पनि कमी भएको छ भने एट्रोपिन नामको औषधि सलाइनसँगै नशाबाट दिइन्छ। तर पूर्ण रुपमा मुटुको चालमा अवरोध आएको छ भने अस्थायी प्रकृतिको पेस मेकर राख्नु पर्ने हुन्छ।
दक्षिण-पूर्वी चीनको एउटा केसलाई अपवाद मान्ने हो भने यसको सफलता दर राम्रो छ अर्थात् मृत्युदर शून्य बराबर छ। तर बिरामीलाई यदि माथि उल्लेख गरिएका लक्षणहरु देखिएका छन् र जंगली मह खाएको जानकारी भयो भने तुरुन्त सुविधासम्पन्न अस्पताल लैजानुपर्छ। समयमै उपचार गर्ने हो भने बिरामी पूर्ण रुपमा सञ्चो हुन्छ।
तसर्थ हामीले महको उपयोग गर्दा कहाँ र कसरी उत्पादन गरिएको हो थाहा पाउनुपर्छ। यसमा विषाक्तताको सम्भावना छ कि छैन भनी ध्यान दिएर मात्र प्रयोग गरेमा सम्भावित स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ।