काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण हुने छ। प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ।
नेपाली टोलीमा प्रत्यारोपण सर्जनसहित प्रधानमन्त्री ओलीको निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह पनि सहभागि हुनेछिन्। शाहले नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न नेतृत्वदायी भूमिका खेलेकी थिइन्।
यस्तै टोलीमा अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख डा सुवाश आचार्य र विभागका अन्य टोली रहने छन्। नर्सिङ तर्फ भने पुनम सिन्हा र उनको टिम रहने बताइएको छ।
यसैगरी, प्रधानमन्त्रीको उपचारमा सक्रिय रहेका डा दिलिप शर्मा, डा अरुण सायमी, डा रमेशसिंह भन्डारी, डा भगवान कोइराला लगायतको टोली पनि सहयोगका लागि तयारी अवस्थामा राखिएको बताइएको छ।
प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्ने भएकी छिन्। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपणका लागि तयार पारिएको फाइलमा नातामा समिक्षा भान्जी भनेर लेखिएको छ।
प्रत्यारोपण सम्बन्धि कानुनमा भान्जीले मिर्गौला दान गर्न मिल्ने उल्लेख छ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीलाई अमेरिकामा रहेका भान्जाले समेत मिर्गौला दिन तयार थिए। ‘प्रधानमन्त्री प्रत्यारोपणका लागि अमेरिका गएको भए उनै भान्जाले मिर्गौला दिने थिए’ स्रोतले भन्यो।