काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन्। उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन जानुअघि सोमबार दिएको भिडियो सन्देशमा यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘हामीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने छु।’
उनले नेपालमै प्रत्यारोपण गराउन पाउँदा गर्व र खुसी लागेको बताएका छन्। ‘आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा म गर्व गर्छु, खुसी पनि छु।’
विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मिर्गौला प्रत्यारोपण जटिल नमानिएकाले आफूमा पनि सहजै प्रत्यारोपण हुने उनको आत्मविश्वास छ।
सन्देश, उनकै शब्दमा
मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हितका लागि संघर्ष, कहिले स्थायित्व नचाहने विरुद्ध संघर्ष। विविध संघर्षहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ।
आजभन्दा झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। पर्सि फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदै छु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँदै छु। विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मिर्गौला प्रत्यारोपण जटिल मानिँदैन। त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा म गर्व गर्छु, खुसी पनि छु।
भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं। त्यसलाई ब्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफूलाई उभ्याउनु भयो। यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा राम्रो खेलाडिले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ।
संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन। हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ। म पुनः एक पटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्। हामीले देखेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने छु।
विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या, भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु।
मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु।
मेरो शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने स्वेदश तथा विदेशमा बस्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु।