काठमाडौं– कोरोना भाइरसको प्रभाव नदेखिएका देशमा वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोक नलगाइएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।आइतबारको मन्त्रिपरिषद्को बैठकले वैदेशिक अध्ययन अनुमति पत्र अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सो निर्णय अनुसार कोरोना भाइरसको प्रभाव देखिएका चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानलगायतका देशमा मात्र वैदेशिक अध्ययन अनुमति पत्र जारी नगर्ने निर्णय भएको प्रष्ट पारिएको छ।
‘विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको प्रतिवेदनको आधारमा कोरोना भाइरसको प्रभाव कम देखिएका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई साविक बमोजिम नै अनुमति पत्र दिने काम जारी रहेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो सूचना अनुसार अष्ट्रेलिया,अमेरिका, बेलायत लगायतका देशमा पढ्न जान चाहने विद्यार्थीका हकमा अनुमति पत्र रोकिएकाे छैन।
