इटहरि- कोरोना भाइरसका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ। कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काललाई दीक्षान्त स्थगित गरिएको हो।
यही फाल्गुन २४ गते शनिबार तय भएको दिक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित भएको हो। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अतिथि बनाएर ल्याउने तयारीमा रहेको प्रतिष्ठानले ओलीको स्वस्थ समस्याको कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो।
प्रतिष्ठानमा ४ वर्षपछि दीक्षान्त हुन लागेको थियो। प्रतिष्ठानका कार्यबहाक उपकुलपति डा गुरु खनालले सरकारले भेला तथा सम्मेलन नगर्न आह्वान गरेका कारण एक हजारभन्दा बढी सहभागि हुने दीक्षान्तलाई तत्काल स्थगन गरेको बताए। उनले कोरोना संक्रमणको अवस्था हेरेर पछि नयाँ मिति तोकिने जानकारी दिए।
सहकुलपती समेत रहेका मन्त्री ढकाल आफैंले कुनै सभा, समारोह र हुलहुज्जत नगर्न आग्रह गरिसकेका छन्। प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खनालका अनुसार अनिश्चितकालका लागी स्थगित गर्नु परेको हो। सरकार आफैंले ठूलो भेला र समारोह नगर्न निर्देशन दिएकोले बिश्वभर कोरोना भाइरस कम नहुन्जेल अर्को मिति तय नहुने उनले बताए।