काठमाडौं – सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको जाँचका लागि पर्याप्त व्यवस्था गरेको दाबी गरे पनि त्यसअनुसारको व्यवस्था नभएको पाइएको छ।
विमानस्थलमा यात्रुको शरिरको तापक्रम जाँच गर्ने थर्मल स्क्यानर मेसिन बिग्रेको छ। उक्त उपकरणले यात्रुको तापक्रमको गलत रिपोर्ट दिने गरेको विमानस्थलको हेल्थ डेस्कका कर्मचारी बताउँछन्।
‘स्क्यानरले राम्रो काम गरेको छैन,’ एक स्वास्थ्यकर्मीले भने, ‘त्यही भएर हामीले थर्मल स्क्यानरबाट तापक्रम लिने गरेका छैनौं।’ उनका अनुसार विमानस्थलका स्वास्थ्यकर्मीले ‘इन्फ्रारेड गन’बाट मात्र यात्रुको तापक्रम लिने गरिएको छ।
थर्मल स्क्यानरले काम गरेको भए यात्रुको तापक्रम अटोमेटिक लिन सकिन्थ्यो। तर, त्यसले काम नगर्दा यात्रुको नजिकै पुगेर गनमार्फत तापक्रम लिने गर्दा स्वास्थ्यकर्मी नै जोखिममा रहेको उनीहरु बताउँछन्।
‘हामीलाई यात्रुको जाँच गर्ने क्रममा जुन हिसाबले सुरक्षाको व्यवस्था गर्नुपर्ने हो। त्यो भएको छैन,’ हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘अहिलेको व्यवस्था हेर्दा त हामीलाई नै कोरोना सर्ने उच्च जोखिम छ।’ ती कर्मचारीका अनुसार हेल्थ डेस्कका कर्मचारीलाई पर्याप्त मात्रामा गाउन, मास्क, पञ्जा, स्यानिटाइजर लगायतको सुरक्षाको व्यवस्था गरिएको छैन।
हेल्थ डेस्कमा तीन सिफ्टमा काम गर्ने गरी कर्मचारीको व्यवस्थापन गरिएको भए पनि कोरोनाको जोखिमबाट जोगिने पर्याप्त व्यवस्था नभएको उनीहरुले गुनासो गरेका छन्।
कर्मचारीका अनुसार जाँचका क्रममा कोही व्यक्तिमा ज्वरो देखिएमा ती व्यक्तिलाई अस्पताल लैजान एम्बुलेन्स बोलाउँदा समेत आउन डर मानिरहेका छन्।
‘एम्बुलेन्स चालकलाई गाउन तथा मास्कको व्यवस्था त गरिएको छ,’ एक कर्मचारीले भने, ‘तर पनि सुरक्षाका विषयमा उनीहरुलाई ढुक्क बनाउन नसक्दा समस्या परिरहेको छ।’