काठमाडौं – कतारबाट फर्किएका एक नेपाली कोरोना भाइरस (कोभिड १९) को आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्।
कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै आइसोलेसन वार्डमा राखेर उपचार थालिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए। यो संगै कोरोनाको आशंकामा दुई जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको उनले बताए।
दक्षिण कोरियबाट फर्किएका एक नेपालीलाई कोरोनाको आशंकामा सोमवार अस्पताल भर्ना गरिएको थियो। उनको रिपोर्ट बुधवार आउने अस्पतालले जनाएको छ।
यसअघि कोरोनाको आशंकामा भर्ना गरिएको चार जनामा संक्रमण नरहेको अस्पतालले पुष्टि गरेको छ। ती चार जना आइतवार अस्पताल भर्ना भएका थिए।
नेपालमा हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको छ।