काठमाडौं— राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्रवीणता प्रमाणपत्र तहदेखि डिम÷एमसिएच (पिएचडीसरह)को वार्षिक शैक्षिक सत्रको क्यालेन्डर सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक क्यालेन्डर अनुसार नै सबै तहको साझा प्रवेश परीक्षा लिने जनाएको छ। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रवेश परीक्षाका लागि सेलेबसहरु बनाउने काम भइरहेको जानकारी दिए। उनले भने, ‘अब चिकित्सा शिक्षाका परीक्षाहरु सोही क्यालेण्डर अनुसार नै हुनेछ।’
तालिका अनुसार आगामी जेठको दोस्रो साता पोष्ट ग्राजुयट (पिजी) तहको साझा प्रवेश परीक्षा हुनेछ। सो परीक्षाका लागि बैशाखको दोस्रो साता सूचना जारी गरिनेछ।
यसअघि, आयोगले पिजीको साझा परीक्षा चैतमा गर्ने बताइएको थियो।
तर, सार्वजनिक क्यालेन्डर अनुसार पिजी परीक्षा जेठमा र त्यसको नतिजा जेठको तेस्रो हप्तामा प्रकाशित हुनेछ। पिजीको भर्ना प्रक्रिया भने साउनको पहिलो हप्ता भित्र सकिने क्यालेन्डरमा उल्लेख छ। कक्षा भने साउनको दोस्रो हप्ताबाट सुरु हुनेछ।
आयोगले जारी गरेको क्यालेण्डरमा प्रवीणता प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा आगामी साउनको तेस्रो साता, स्नातक तहका कार्यक्रमको प्रवेश परीक्षा भदौको तेस्रो हप्ता र डिम÷एमसिएच (पिएचडीसरह)कार्यक्रमको प्रवेश परीक्षा असोजको पहिलो हप्ता गर्ने उल्लेख छ।
सबै परीक्षाहरु हुने एक महिनाअघि परीक्षासम्बन्धी सुचना जारी हुनेछ। तालिकामा प्रवेश परीक्षा भएपछि नतिजा प्रकाशन, भर्ना प्रक्रिया, कक्षा सुरु हुने मिति, सेमेस्टर र वार्षिक परीक्षा हुने समय र रिजल्ट प्रकाशन गर्ने महिनाबारे पनि उल्लेख गरिएको छ।
हेरौँ शैक्षिक क्यालेन्डर
