काठमाडौं- मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पताल महारजगञ्जले जनाएको छ।
प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालेको र प्रधानमन्त्रीलाई आजबाट तरल खानेकुरा दिन सुरु गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ।
'प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि स्थिर रहेको छ,' अस्पतालले भनेको छ, 'उनलाई पनि तरल र नरम आहार दिन थालिएको छ।'
प्रधानमन्त्रीको बुधबार दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको हो। मिर्गौला प्रत्यारोपणको शल्यक्रियाका लागि अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सक सहित अन्य नर्स र प्राविधिक खटिएका थिए।
