दिपक घिमिरे
भैरहवा- भैरहवास्थित भीम अस्पतालले अस्पतालको नयाँ गुरुयोजना तयार गरेको छ। नयाँ गुरुयोजनाको डिपिआर प्रदेश ५ सरकारले स्वीकृत गरेको छ। प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई गुरुयोजना हस्तान्तरण गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले अब अस्पतालको मुहार फेरिने बताए।
गुरुयोजना अनुसार अस्पतालको मुख्य भवनमा एक सय बेड रहने छन्। मुख्य भवन तीन तलाको हुनेछ। त्यस्तै २५ शय्याको छुट्टै प्रसूति गृह पनि निर्माण गरिने छ। गुरुयोजना अनुसार संरचना बनाउन ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
त्यस्तै आकस्मिक कक्ष, बच्चाहरुको लागि एनआइसियु, पेड्रियाट्रिक वार्ड, सर्जरी वार्ड, मेडिकल वार्ड लगायतका संरचना रहनेछन्। त्यस्तै अस्पतालको बाहिरपट्टि ल्याण्डस्केपमा पार्किङका साथै छुट्टै ग्रिनरी पार्क निर्माण गरिनेछ। त्यसै गरी पोष्टमार्टमका लागि छुट्टै गृह र स्टाफ क्वाटर पनि निर्माण गरिनेछ।
अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अस्पताल विकास समितिले अत्याधुनिक भवनको डिजाइनसहितको गुरुयोजना बनाएको हो। गुरुयोजना अनुसार अब एक महिना भित्रै डिपिआर तयार गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दर्नालले बताए। 'गुरुयोजना अनुसार संरचना बनेपछि यो अत्याधुनिक र नमुना अस्पताल बन्नेछ, बिरामीले यहींबाट विशेषज्ञ सेवासहितको उपचार पाउनेछन्,' उनले भने।

डिपिआर तयार भएपछि प्रदेश सरकारले यसै आर्थिक वर्षमा टेण्डर आह्वान गर्नेछ। निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बजेटको प्रबन्ध गर्नेछ। 'डिपिआर तयार भइसकेपछि निर्माणको काम सुरु हुन्छ, गुरुयोजना अनुसार यो अस्पताल प्रदेशकै नमुना अस्पताल बन्ने देखिएको छ,' सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले भने।
प्रदेश सरकारले केही दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालको प्रारम्भिक गुरुयोजना सार्वजनिक गरेको थियो। 'बजेटका हिसाबले लुम्बिनी प्रादेशिक अस्पतालमा धेरै संरचना बन्ने भए पनि डिजाइन र स्तरीय सेवा सुविधाका हिसाaले भीम अस्पताल नमुना बन्ने देखिएको छ,' उनले भने। प्रदेश सरकारले विभिन्न जिल्लाका सरकारी अस्पतालहरुको गुरुयोजना बनाएर स्तरवृद्धि गर्ने काम अगाडि बढाएको खनालले जानकारी दिए।
विसं १९९० सालमा तीन शय्याबाट स्थापित भीम अस्पताल २०३५ सालमा १५, २०४१ मा २५ शय्याको स्वीकृति पाएको छ। १ सय शय्याको अस्पतालको रुपमा सरकारले घोषणा गरे पनि हाल २५ शय्याको स्वीकृत प्राप्त गरेको छ। सोही दरबन्दी अनुसार ६० बेडमा सञ्चालित छ।

भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसूति र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा, प्रयोगशाला, एक्सरे, इसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, युएसजी सेवा र एआरटी सेवा दिंदै आएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए।
अस्पतालको सेवा प्रवाहलाई सुदृढीकरण गर्न केही समयअघि मात्रै अस्पतालले चौबीसै घण्टा ल्याब सेवा सञ्चालनमा ल्याएको थियो। त्यस्तै कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको परीक्षण गर्न अस्पतालले आइसोलेसन कक्षको व्यवस्था समेत गरेको छ।