काठमाडौं- नेपाली औषधि उत्पादकहरुले कोरोनाको संक्रमणका कारण भारतले केही औषधिको निर्यातमा रोक लगाए पनि नेपालमा अभाव नहुने बताएका छन्।
नेपाली उत्पादकहरुले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी नेपालमा अझै तीन महिनासम्मका लागि औषधि र कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिएका हुन्। उनीहरुले भारतले रोक लगाएका औषधि तत्कालै अभाव हुन्छ भनेर डराउनु पर्ने अवस्था नरहेको पनि बताए।
भारतले केही दिन अघि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि नेपालमा औषधि अभाव हुनसक्ने भन्दै आशंका व्यक्त भएको थियो।
नेपाल औषधि उत्पादक संघका प्रतिनिधीले भूकम्प र नाकाबन्दीको समयमा झैँ अहिले पनि औषधि अभाव हुन नदिने कुरामा जोड दिएका हुन्।
‘हामी डराउनुपर्ने अवस्था छैन,’ संघका महासचिव विप्लब अधिकारीले भने, ‘जसरी भूकम्पको समयमा र नाकाबन्दीको समयमा हामीले औषधिको कुनै अभाव हुन दिएका थिएनौँ। अहिलेको यो समयमा पनि हामी औषधिको अभाव हुन दिने छैनौँ।’
उनले नेपालका ६० भन्दा बढी कम्पनीहरुसँग रहेका औषधि र कच्चा पदार्थले अझै ६ महिनासम्म धान्ने जानकारी दिए।