काठमाडौं- नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।
कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अभाव देखिएको भन्दै चेम्बरको समेतको सहयोगमा व्यवसायी मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्। चेम्बर र सरकारको सहयोगमा व्यवसायी मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्न लागेको जानकारी स्वास्थ्य खबरलाई दिएका छन्।
केही दिनअघि मात्रै चेम्बरले मल्होत्राको संयोजकत्वमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न कमिटी समेत गठन गरेको थियो। सोही कमिटीले दिएको सुझावका आधारमा मल्होत्राले मास्क बनाउने मेसिन नेपाल ल्याउने भएका हुन्।
मल्होत्राका अनुसार मास्क उत्पादन गर्ने मेसिन अबको २/३ दिनभित्रै नेपाल आइपुग्नेछ। मेसिन र कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने क्रम सुरु भइसकेको छ। 'हामीले सबैभन्दा पहिले आवश्यक वस्तु मास्क र ह्यान्ड स्यानिटाइजर भएको निर्क्यौल गर्दै सहुलियत दरमा मास्क उपलब्ध गराउने लक्ष्यसहित यो काम गर्न लागेका हौं,' उनले भने।
बजारमा एउटै मास्कको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न थालेकाले सहुलियत मूल्यमा मास्क उपलब्ध गराउने लक्ष्यसहित काम थालनी हुन लागेको उनको भनाइ छ।
'हामीले सबैभन्दा पहिले बढ्दो मास्कको अभाव कसरी सहज गर्न सकिन्छ भनेर छलफल गरेका थियौं। छलफलबाट सहज रुपमा मेसिन र कच्चा पदार्थ ल्याउँदै मास्क उत्पादन गरेर सहुलियत दरमा उपलब्ध गराउने सकिने थाहा पाएपछि यो काम अगाडि बढाउन लागेका हौं,' मल्होत्राले भने। 'यसका लागि आवश्यक मेसिनमा हामीले सरकारसँग केही छुट नलिने र कच्चा पदार्थ आयातमा भने भन्सार छुट लिने गरी काम अगाडि बढाउन लागेका हौं,' उनले भने, 'समस्या समाधानका लागि भन्सार छुट भएको अवस्थामा केही सहुलियत दिन सक्छौं भने थाहा भएपछि नेपाल सरकारको पनि सहयोगले चेम्बरले काम गर्न लागेको हौं।'
मल्होत्राका अनुसार मंगलबारसम्ममा मास्क उत्पादन गर्ने मेसिन नेपाल आइपुग्छ। कच्चा पदार्थ र मेसिन आइपुगेपछि सातामा पाँच लाख मास्क उत्पादन गर्दै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको मल्होत्राले बताए।
मेसिन नआउँदासम्मका लागि आइतबारबाट निम्बसको सहयोगमा मास्क उपलब्ध गराउन लागिएको समेत उनले स्वास्थ्य खबरसँग बताए। मेसिन नआउँदासम्मका लागि चेम्बरले निम्बसबाट दैनिक १५ हजार मास्क लिएर बजारमा पठाउने भएको छ।
‘भारतमा समेत कच्चा पदार्थ अभावका कारण हामीलाई केही लागत महंगो पर्न जान्छ कि भन्ने छ,’ मल्होत्राले भने, ‘तर, हामी उपभोक्तालाई हाम्रो लागतभन्दा पनि कम मूल्यमा चेम्बरका सबै व्यवसायीको सहयोगमा वितरण गर्छौं।’
प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई सकेसम्म ५ रुपैयाँमा नै उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ। तर, वितरणमा केही चुनौती भने रहेको उनको भनाइ छ।
'हामीले औषधी व्यवसायी संघको सहयोगमा केही व्यवसायीलाई वितरण गर्ने योजना बनाएका छौं,' मल्होत्राले जानकारी दिए। तर, चेम्बरको सहयोगमा वितरण भएको सहुलियत दरको मास्क यहाँ पाइन्छ भन्ने ब्यानर भने राख्ने उनको भनाइ छ। 'उक्त ब्यानरमा मास्कको मूल्यसमेत स्पष्ट लेख्छौं। जसबाट उपभोक्ता ठगिने कुरा रहँदैन,' उनले भने।
यसबाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निः शुल्क यात्रुलाई वितरण हुने मल्होत्राले जानकारी दिए। मास्क बनाउन लाग्ने कच्चा पदार्थ र मेसिनका लागि भने मल्होत्राको लगानी छ।