डा हेमराज कोइराला
होली रङहरूको पर्व हो। होलीका दहनको पौराणिक कहावत बोकेको यो ऐतिहासिक पर्व आधुनिक युगसम्म आइपुग्दा स्वास्थ्य दहनको सामाजिक उत्सव बन्दै गहिरहेको छ। यो चाड मनाउन प्रयोग गरिने रासायनिक र कृत्रिम रङहरूको बढ्दो प्रयोग जनस्वास्थ्यका लागि खतरा सावित हुँदै गइरहेको छ।
परम्परागत तरिकाले बनाइने हर्बल (वनस्पति) रङहरुको स्थान व्यावसायिक प्रयोजनका लागि बनाइएका रासायनिक रङहरुले लिइदिँदा भयावह स्वास्थ्य समस्या झेल्न बाध्य हुनु परेको छ। व्यावसायिक मुनाफाका लागि रासायनिक तत्वहरुबाट रङ बनाउनु र गहिरो रङ निकाल्न स्वास्थ्यका लागि हानिकारक मानिएका प्रतिबन्धित पदार्थहरुको मिलावट गर्नाले होली जस्तो पवित्र सांस्कृतिक पर्व पनि स्वास्थ्य दहनको अग्निकुण्ड बन्दै गइरहेको छ।
होलीमा प्रयोग गरिने रङहरू मुख्यतः सुख्खा, पानीमा घोल्न मिल्ने र लेदो (पेस्ट) गरी तीन प्रकृतिका हुन्छन्। व्यापारिक प्रयोजनका लागि औद्योगिक स्तरमा तयार गरिएका यी रङ बनाउन स्वास्थ्यमा प्रतिकूल असर पार्ने रसायनहरूको व्यापक प्रयोग गरिएको हन्छ।
रङमा मिसाइएका यी स्वास्थ्य नाशक तत्वहरू, छाला, नाक (श्वास), मुख, आँखा र कान हुँदै शरीरभित्र प्रवेश गरी स्वास्थ्यमा प्रतिकूल असर मात्र पार्दैन, कहिलेकाहीँ त आपतकालीन अवस्था पनि सिर्जना हुन सक्छ। बजारमा जताततै पाइने यी रङहरू बनाउन विशेषतः माइका, एस्वेस्टस, सिलिका, शिशाको धुलो, पेट्रोलियम पदार्थ, अम्ल, क्षार, लवण, भारी धातुहरू, पारो, बालुवा र चुन जस्ता स्वास्थ्यका लागि भयावह हुने तत्वको प्रयोग गरिन्छ।
यसरी बनाइएका मिलावटी रासायनिक रङहरुको स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव छ। रङमा उपरोक्त तत्वहरू हाल्नाले छालाको संक्रमण, रगतको संक्रमण, मिर्गौलाको संक्रमण, मुटु, कलेजो मस्तिष्क, आँखा जस्ता कोमल अङहरु दुर्वल र निस्क्रिय (फेलियर) हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्छन्।
सुख्खा रङ
अबिर, केशरी, सिन्दुर जस्ता सुख्खा रङहरु बनाउन मुख्यतः शिशाको धुलो, माइका, एस्वेस्टस र सिलिका जस्ता तत्वहरू प्रयोग गरिएको हुन्छ। शिशाको धुलो रङलाई चम्किलो बनाउन प्रयोग गरिन्छ। रङ खेल्दा शिशा, छाला, नाक मुख, र श्वास मार्गबाट शरीरभित्र प्रवेशगरी मिर्गौला, कलेजो, हड्डी तथा कार्टिलेजहरूमा जम्मा हुन्छ र यी अंगहरूलाई निस्क्रिय बनाउँछ। यसका अलावा उपापचयी क्रिया प्रभावित हुने र आँखालाई हानि पुर्याई दृष्टि नाश पनि हुन सक्छ।
सुख्खा रङ बनाउन प्रयोग गरिने अर्को हानिकारक तत्व एस्वेस्टस र सिलिका हो। एस्वेस्टसले छाला तथा फोक्सोको क्यान्सर, दम, खोकी, छालाको प्रदाह र अल्पकालीन अन्धोपन गराउँछ। माइकाले पनि दम, खोकी, फोक्सोको फईब्रोसिस, कमजोरी र तौल घट्ने जस्ता समस्याहरू निम्त्याउँछ। सुख्खा रङमा हालिने अन्य तत्वहरुमा, क्रोमियम, क्याडमियम, निकिल, पारो, जस्ता र फलाम लगायतका भारी धातुहरू पर्छन्।
क्रोमियमले दम, खोकी, फोक्सो तथा छालाको एलर्जी गराउँछ। क्याडमियमले इटाई इटा नामक हड्डी नाजुक गर्ने रोग र क्यान्सर निम्त्याउँछ। निकिलले छालाको प्रदाह र निमोनिया गराउँछ। पारोले दम बढ्ने, खोकी लाग्ने, छाती दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पखाला चल्ने, मुटुको चाल गडबड हुने रक्तचाप बड्ने, आँखाको एलर्जी, टाउको दुख्ने दृष्टि धमिलिने र स्नायु प्रणालीका गडबडी जस्ता समस्या गराउँछ। जस्ता (जिङ्कले) ज्वरो, छालाको एलर्जी, आँखाको एलर्जी, पाचन प्रणालीमा गडबडी जस्ता समस्या गराउँछ। फलामले छालाको एलर्जी र सौन्दर्य नास गर्छ।
लेदो (पेस्ट) रङ
सुख्खा रङहरूमा तेल, मैन, पेट्रोलियम पदार्थ, अम्ल, क्षार, लवण र अन्य रसायन हालेर लेदो रङ बनाइन्छ। विशेषतः कालो रङ बनाउन लेडअक्साइड, हरियो रङ बनाउन कपर सल्फेट (निलो तुतो), बैजनी रङ बनाउन क्रोमियम ब्रोमाइड, चाँदी जस्तो चम्कने (ग्लिटरिङ्ग) सेतो रङमा एल्मुनियम ब्रोमाइड, रातो रङ बनाउन मरक्युरी सल्फेट, निलो रङ बनाउन प्रसियन ब्लु जस्ता रसायन मिसाइएको हुन्छ।
लेडअक्साइड निलिएमा वा श्वासद्वारा लिएमा घातक हुन सक्छ। यसले छाला, आँखा, श्वासनली, फोक्सो, मस्तिष्, आन्द्रा, मिर्गौला, रगत र प्रजनांङ्गहरुलाई प्रभावित गर्छ। गर्भवती तथा गर्भास्थ शिशुको लागि अझै घातक हो। एलर्जी छाला सुनिने, फोकाफेकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला फेलिएर हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड पोइजनिङमा (विषाक्तता) देखा पर्छ।
हरियो रङ बनाउन प्रयोग गरिने कपर सल्फेट (निलो तुतो) भन्ने रसायनले आँखा तथा छालामा विषाक्तता पैदा गर्छ। छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग ताथ ढकनी सुनिने, आँखामा घाउहरु आउने र कोर्निया (आँखाको नानी) खराब हुने जस्ता समस्या पनि आउन सक्छ। यो तत्व निल्न गएमा वाकवाक आउने बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखला लाग्ने, जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अङ्गहरुलाई पनि हानि पुर्याउँछ।
बैजनी रङ बनाउन प्रयोग गरिने क्रोमियम ब्रोमाइड भन्ने रसायन श्वास र फोक्सोको लागि अत्यन्त हानिकारक छ। श्वास बढ्ने, दम, खोकी लाग्ने एलर्जी हुने जस्ता लक्षण देखिन सक्छ।
चाँदी जस्तो चम्कने (ग्लिटर) सेतो रङमा एल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषक्तताले क्यान्सर हुन सक्छ। आँखा, छाला र श्वासन प्रणालीमा प्रत्यक्ष हानि पुर्याउने यो तत्वले फोक्सोको क्षय, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउँछ। निलो रङ बनाउन प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यो रसायनले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छन्। र, यसलाई निल्न गएको खण्डमा पेट दुख्ने, पाचन शक्ति गडबड हुने र कब्जियतका समस्या देखिन सक्छ।
यसैगरी रातो रङ्ग बनाउन प्रयोग गरिएको मरक्युरी सल्फेट भन्ने तत्व श्वासद्वारा शरीरभित्र गएमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्ने जस्ता समस्या देखा पर्छन्। यो तत्व आँखामा पर्न गएमा आँखाको नानी जल्न गई अन्धोपन पनि हुन सक्छ। साथै आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्व मिसाइएको रङ खान पुगिएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्राहरु गल्ने जस्ता समस्या देखा पर्छन्। विषक्तता ज्यादै भएमा रक्त नलीहरुले काम नगर्दा व्यक्तिको मृत्यु पनि हुन सक्छ।
घुलनशील रङ
घुलनशील रङ बनाउन धेरै मात्रामा क्षारीय पदार्थ मिसाइएको हुन्छ। यसका अलावा इन्जिन आयल, जेन्टिन भायलेट र अन्य विषाक्त पदार्थहरू पनि मिसाइएको हुन्छ। यी पदार्थले पनि स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ।
अन्त्यमा
होली आमोद–प्रमोद र खुसीको पर्व हो। हानिकारक रङहरुको छनोटले हर्ष, उल्लास र उमङ्ग गुम्नुका साथै विभिन्न स्वास्थ्य समस्याहरु भोग्नुपर्ने हुन सक्छ। रङ खेल्दा आँखा, छाला, श्वासन अंगहरुको विशेष बचाउ जरुरी छ।
विशेषगरी रङ छान्दा रासायनिक नलिएर वनस्पति र प्राकृतिक तत्वहरूबाट निर्मित रङहरु लिँदा उल्लेखित समस्याहरुलाई कम गर्न सकिन्छ। रङ खेल्दा यदि माथि लेखिएका समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिऔं र समस्याको समयमै यथोचित व्यवस्थापन गरी सम्भावित खतराबाट मुक्त होऔं। सबैमा होलीको शुभकामना।