फाइल तस्बिर
काठमाडौं- सरकारले नेपालका पहिलो ब्याचका ७ मिडवाइफलाई परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा परिचालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार मिडवाइफको स्थायी दरबन्दीको व्यवस्थापन नभइसकेकाले पहिलो ब्याचका मिडवाइफलाई करार सेवामा राख्न लागिएको हो।
मिडवाइफले सामान्य गर्भावस्था, प्रसावस्था, सुत्केरीवस्था र समग्र महिला स्वास्थ्य तथा २८ दिनसम्मको नवजात शिशुलाई उच्च स्तरीय सम्मानजनक करुणामय स्वास्थ्य सेवा प्रदान गर्ने गर्छन्।
स्रोतका अनुसार सबैलाई एकै स्थानमा परिचालन गर्दा काम गर्ने वातावरण हुने र मिडवाइफको सेवाको प्रभावकारिता देखिन सहज हुनेछ। त्यसैले सबैभन्दा धेरै सुत्केरी हुने अस्पतालमा परिचालन गर्न लागिएको बताइएको छ।
यद्यपी, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रोशनी तुइतुईले अहिले नै कुन अस्पतालमा परिचालन गर्ने भन्ने टुङ्गो नलागेको बताइन्।
उनले भनिन्,‘मिडवाइफहरुलाई विभिन्न अस्पतालमा परिचालन गर्नेसम्बन्धी मार्गदर्शन, २०७६’ मन्त्रालय पठाएका छौँ। स्वीकृत हुन बाँकि छ। त्यसपछि मात्र कुन अस्पतालमा परिचालन गर्ने भन्ने टुङ्गो लाग्छ।’
उनले पहिलो ब्याचका मिडवाइफलाई एकै स्थानमा परिचालन गर्दा काम गर्ने वातावरण सहज भई त्यसपछिका मिडवाइफ सहज हुने विषयमा छलफल भएको भने स्विकार गरिन्।
गुणस्तरीय सेवाको अभावमा गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले महत्वपूर्ण हुन्छ।
नेपाल नर्सिङ काउन्सिलको फागुन २४ गते भएको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा आठमध्ये सात जना मिडवाइफ उतीर्ण भएका थिए। भने एकजना मिडवाइफ प्रयोगात्मक परीक्षामा फेल भएको बताइएको छ।
तुइतुईले सरकारले मिडवाइफको दरबन्दी सिर्जना गर्न समय लाग्ने भएकाले पहिलो ब्याचलाई तत्कालका लागि करार सेवा राखिने जानकारी दिइन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट पहिलो ब्याचका मिडवाइफ उत्पादन भएका छन्।