काठमाडौं- संघीय सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि समायोजना भएर प्रदेश तथा स्थानीय तहमा पुगेका डाक्टर तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ।
नेपालका कोरोना भाइरस भित्रिने खतरा रहेको र भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले आवश्यकता अनुसार समायोजन भइसकेका डाक्टर र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने निर्णय गरेको हो।
कोरोना रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्ने निर्णयमा भनिएको छ।
स्वास्थ्यका कर्मचारीको समायोजनको काम भने अझै टंगिसकेको छैन। अझै धेरै स्वास्थ्यकर्मी समायोजनको गुनासो बोकेर मन्त्रालयमा धाउँदै आइरहेका छन्।
विज्ञहरुले स्वास्थ्यका सबै कर्मचारीलाई संघीय सरकारले नै खटाउनुपर्ने सुझाव दिँदै आइरहेका छन्।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अत्यावश्यक बाहेक स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न परिपत्र समेत गरेको छ।
मन्त्रालयल शुक्रबार सचिव स्तरीय निर्णय गर्दै कोरोना भाइरस संक्रमण रोकथाममा सर्तकता अपनाउनुपर्ने भएकाले अर्को आदेश नभएसम्म स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न परिपत्र गरेको हो।
मन्त्रालयले प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न, नगराउन र गर्नैपर्ने अवस्था आए वैकल्पिक व्यक्तिको व्यवस्था गरेर मात्र बिदा स्वीकृत गर्न निर्देशन दिएको छ।