काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पास गराइदिने भन्दै काउन्सिलका सदस्य जीता बरालले गरेको फेसबुक च्याट प्रकरणबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
काउन्सिलका सदस्य तथा परीक्षा कमिटीका सदस्य सचिव कृष्णा सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
समितिलाई सो प्रकरणबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। समितिले प्रतिवेदन बुझाएपछि काउन्सिलले सो प्रकरणबारे अगामी निर्णय लिने बताइएको छ।
समितिमा नर्सिङ एसोसिएसनका अध्यक्ष मनकुमारी राई र विजया केसी सदस्य रहेका छन्। विजया केसी स्वास्थ्य मन्त्रालयकी १२औं तहबाट अवकाश प्राप्त नर्सिङ कर्मचारी हुन्।
सो च्याट प्रकरणमा सदस्य बरालको फेकबुक म्यासेन्जरमा लाइसेन्समा सहभागी हुने एक विद्यार्थीसँग तीन लाख रुपैयाँ दिए पास गराइदिने भन्दै आइएमई मार्फत पैसा पठाइदिइको स्क्रिनसट सामाजिक सञ्जालमा बाहिएको छ।
यही फागुन २४ गते काउन्सिलको २४औं लाइसेन्स परीक्षा भएको थियो। ५ हजार नर्समध्ये ४ हजार ३ सय ९० नर्स र ८ मध्ये ७ मिडवाइफ उत्तीर्ण भएका थिए।
परीक्षा सकिएपछि बाहिरिएको कुराकानीमा काउन्सिलका रजिष्ट्रार बिन्दा घिमिरेको नाम समेत जोडिएको छ। सदस्य जीताले ती विद्यार्थीसँग बार्गेनिङ गरेको देखिन्छ। रजिष्ट्रारलाई समेत पैसा दिनुपर्ने भएकाले तीन लाख दिनुपर्ने र जसरी पनि पास गराइदिने उल्लेख छ।
विद्यार्थीले दुई पटक गरेर दुई लाख ५० हजार रुपैयाँ आइएमई गरी नम्बर पठाइदिएकी छन् भने बाँकी ५० हजार पास भएपछि दिने बताएकी छिन्।
सामाजिक सञ्जालमा सो कुराकानी बाहिएपछि रजिष्ट्रार बिन्दा घिमिरे र सदस्य जीता बरालले बिहीबार आफ्नो फेसबुक ह्याक गरी कसैले बदनाम गर्न खोजेको भन्दै नर्सिङ काउन्सिलमा छुट्टाछुट्टै निवेदन दिएकी छन्। सदस्य जीता बरालले प्रहरीमा उजुरी समेत दिएकी छन्।