नारायण रिजाल
बागलुङ- देशभर सञ्चालन भएको दादुरा–रुबेला खोप अभियान बागलुङमा यही चैत ५ गते बुधबारदेखि सुरु हुँदैछ। अभियान जिल्लाका चार स्थानीय तहमा पहिलो चरण र बाँकी ६ स्थानीय तहमा दोस्रो चरणमा सञ्चालन हुनेछ।
अगामी चैत ५ देखि १३ गतेसम्म पहिलो र चैत १५ देखि २३ गतेसम्म दोस्रो चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। अभियान ९ दिनसम्म सञ्चालन हुने छ।
पहिलो चरणमा पश्चिम भेग, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका हरेक खोप केन्द्रमा सञ्चालन हुनेछ। त्यस्तै दोस्रो चरणमा जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा सञ्चालन हुनेछ।
अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। कार्यालयले अभियान सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गरिसकेको छ। पहिलो चरण अभियानका निम्ति स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकमार्फत आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई घरघरमा निमन्त्रणा कार्ड वितरण गरिएको छ।
‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए।
निमन्त्रणामार्फत अभिभावकलाई ९ महिनादेखि ५ वर्ष भित्रका बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउन अनुरोध गरिएको छ। यो अभियानमार्फत सतप्रतिशत बालबालिकालाई दादुरा–रुबेला खोप लगाउनुका साथै नियमित खोप सेवालाई पनि सुदृढीकरण गरी गुणस्तरीय र प्रभावकारी खोप सेवा प्रदान गर्ने लक्ष्य राखिएको गुरौले बताए।
कार्यालयले अभियान सञ्चालनका निम्ति खोप सेन्टरहरुमा आवश्यक सामग्री र जनशक्ति तयार पारेको छ। जिल्लामा कुल २३ हजार ५ सय ७० बालबालिकालाई यस वर्ष दादुरा रुवेला विरुद्धको खोप लगाइने छ भने ६ सय खोप केन्द्रबाट बालबालिकालाई खोप सेवा प्रदान गरिने गुरौले जानकारी दिए।
हरेक खोप केन्द्रमा दक्ष स्वास्थ्यकर्मी तथा खोप कार्यकर्ताको प्रत्यक्ष सहभागितामा बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए। अभियान सञ्चालन हुने दुई चरणका लागि कुल १६ सय जनशक्ति परिचालन हुने खत्रीले बताए।
जस अन्तर्गत झन्डै ३ सय ५० स्वास्थ्यकर्मी, ९ सय ५० महिला स्वास्थ्य स्वयंसेविका र बाँकी अन्य स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु परिचालन हुनेछन्। परिचालन हुने जनशक्तिका लागि आवश्यक तालिम प्रदान गरिसकिएको छ। ‘हामी सबै तयारी पूरा गरी स्थानीय तह र स्वास्थ्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गरेका छौं’, खत्रीले भने।
नेपाल सरकार सन् २०२३ भित्रमा नेपाललाई दादुरा–रुबेला मुक्त गरिने अभियानमा जुटेको छ। पछिल्लो समयमा बागलुङमा भने यसको कुनै प्रकोप नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।