काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त सुझाव दिएको हो।
संघले सुझावसँगै कोरोनाका विषयमा जनचेतना जगाउन संघको केन्द्रिय कार्यालय सहित शाखा कार्यालयहरुमा सूचना डेस्कको समेत व्यवस्था गरेको जनाएको छ।
यसका साथै संघले सरकारलाई जुनसुकै परिस्थितिमा पनि यो संकट सामनाका निम्ति सहयोग गर्न तत्पर रहेको उल्लेख गरिएको छ।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सतर्कता र रोकथामका लागि पूर्व तयारी गर्न उच्च प्राथमिकतामा राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्च मनोवलका साथ काम गर्ने वातावरण निर्माण गर्न पनि संघले आग्रह गरेको छ।
यस्ता छन् संघको १२ बुँदे सुझाव
१. काठमाडौं उपत्यका र प्रत्येक प्रदेशमा निश्चित सरकारी तथा निजी अस्पतालहरुको पहिचान गरी ती अस्पतालहरुलाई कोरोना भाईरसको मात्र उपचारको लागि व्यवस्था मिलाउने र स्वास्थ्य संस्थाहरु मान्युनतम पूर्वाधार, उपकरण र जनशक्तिको आवश्यक व्यवस्था गर्ने।
२. सरकारबाट संक्रमणको रोकथामका लागि उपचार गर्न तोकिएका अस्पतालहरुमा रहेका अन्य रोगका बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण बनाई ति अस्पतलालाई कोरोनाको उपचारको लागी तयारी अवस्थामा राख्ने।
३. कोरोना भाइरस उपचारका लागि तोकिएका स्वास्थ्य संस्था र अस्पतालमा रहेका सम्पूर्ण साधारण बेडहरु, आईसियू बेडहरुको अधिकतम उपयोग भए पश्चात् मात्र अर्को अस्पतालमा संक्रमित विरामीहरुको उपचार गर्ने गरी प्रबन्ध गर्ने।
४. बिरामीको पहिलो सम्पर्कमा नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएको हुनाले उनीहरुको स्वास्थ्यको सुरक्षाकालागि Advance Personal Protective Equipment (PPE) लगायत औजार र उपकरण तथा संक्रमणबाट जोगिन सक्ने सामाग्रीहरुको पर्याप्त रुपमा उपलव्ध गराउने।
५. चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप प्रशिक्षण, वीमा र प्रोत्साहनको व्यवस्था गर्नु पर्ने।
६. सम्भाव्य जोखिम न्युनिकरण गर्न तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधी, उपकरण र जनशक्तिको व्यवस्था गर्ने।
७. नेपाल आवगमनका लागि तोकिएका स्थान, चेक जाँच, परिक्षण र उपचारका लागि तोकिएक ठाँउहरू तथाकुनै पनि स्वास्थ्य संस्थामा संकास्पद बिरामी भेटिए अवस्थामाति बिरामीको लागि, थप चेकजाँच, क्वारेन्टाइन, उपचार, आइसोलेसन लगायतको लागि आवश्यक प्रकृयाका सन्दर्भमा निश्चित संयन्त्र निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने।
८. विमानस्थल र सिमानामाहुने चेकजाँचलाई प्रभावकारी र व्यवस्थित बनाई प्रवेश गरेका व्यक्तिहरूको निगरानी राख्ने र थप चेक जाँच तथा उपचारको लागि उपयुक्त प्रवन्ध गर्नु पर्ने।
९. कोरोना भाइरसका बारेमा फैलाइएका भ्रम र अलमललाई रोक्न, सही सुचना र जानकारी दिनको लागि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य विज्ञहरू समेत सम्मिलित संयन्त्रबनाई निश्चित समयमा नियमित रुपले आधिकारिक सुचना सम्प्रेषण गर्ने व्यवस्थागर्ने र तिनवटै तहका सरकारका बिचमा समन्वय संयन्त्र स्थापना गर्नु पर्ने।
१०.संभाव्य जोखिमलाई मध्येनजर गरी नेपाल सरकारले आवश्यक परेको बेला स्वास्थ्य मन्त्रालयले परिचाल नगर्न सक्ने गरी निजीतथा गैरसरकारी स्वास्थ्य संस्था, विज्ञ जनशक्ति, चिकित्सकतथा स्वास्थ्यकर्मीको रोष्टर बनाई तयारी अबस्थामा राख्नुपर्ने । यसको लागि स्थानीय र प्रदेश सरकार तथा गैरसरकारी क्षेत्रसंग समन्वय गरी नेपाल सरकारले विशेष पहलकदमी लिनुपर्ने।
११.कोरोना संक्रमणको प्रारम्भिक चेकजाँच, सेल्फ क्वारेन्टाइन, अभिलेखिकरण, उपचार प्रक्रिया र प्रेषण पद्दति लगायतका विषयमा अबिलम्ब प्रोटोकल तयार गरी अस्पताल तथा सम्बन्धित निकायमा उपलव्ध गराउने । सतर्कताका लागि संचार माध्यम र अन्य उपयुक्त माध्यमहरूबाट जनचेतना मुलक कार्यक्रमहरू संचाल नगर्नुपर्ने।
१२.नेपाल सरकारले प्राविधिक पक्षको निर्णय लिनुपर्दा चिकित्सक संघ लगायत स्वास्थ्यसंग सम्बन्धित विभिन्न पेसागत संघ–संस्थासंग समन्वय गर्नु पर्ने।