विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
यो समाचार तयार पार्दासम्म रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। योसँगै कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ।
कोरोना संक्रमित हुनेमा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका ६ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका १ जना र चीनको वुहानबाट नेपाल फर्किएका १ जना गरी १२ जना छन्। उनीहरु सबैको परिचय गोप्य राखिएको छ।
यस्तै, कतारमा दुई हजार र पोर्चुगलमा ६९ नेपाली क्वारेन्टाइनमा राखिएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्।
यसैबीच, कोरोनाको उपचारमा खटिने कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता दिइने सरकारले निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ।
डब्ल्यूएचओले कोरोना भाइरस संक्रणको आशंका भएका सबैको परीक्षण गर्न विश्वलाई आवह्वान गरेको छ।
000
स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।
इटालीमा पनि सोमबारदेखि देशव्यापी प्रतिबन्ध लागू गरिएको छ। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्। विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको छ। कोरोनाका कारण इटालीका ६ करोड मानिस घरमै बसेका छन्।
त्यसैगरी फ्रान्समा १५ दिनका लागि लक डाउन भएको छ। फ्रान्सले १५ दिनका लागि सबै नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छ। फ्रान्समा क्याफे, रेस्टुराँ, चलचित्रघर र पसलहरू बन्द भएका छन्।
चेक सरकारले अत्यावश्यक बाहेक हिँडडुलमा प्रतिबन्ध लगाएको छ। अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ।
कोरोना भाइरस नियन्त्रण गर्न विश्वमा भइरहेका प्रयास
अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसको पहिलो भ्याक्सिन परीक्षण गरेका छन्। सिएटलमा पहिलो पटक एउटी महिलालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको हो।
सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार कोरोनाको पहिलो भ्याक्सिन ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको हो।
यो परीक्षण सफल भयो भने भ्याक्सिन बजारमा आउन १२ देखि १८ महिना लाग्नेछ। यो परीक्षणका लागि १८ देखि ५५ वर्ष उमेर समूहका ४५ जनालाई चयन गरिएको छ। भ्याक्सिन लगाएकाहरुलाई ६ हप्तासम्म अध्ययन अनुसन्धान गरिने छ।
००००
लक्षणहरुमा
– १००.४ फरेनाइट भन्दा माथि ज्वरो आउनु,
– श्वास प्रश्वासमा अत्याधिक समस्या देखिनु र
– खोकी लाग्नु ।
यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जानुहोला ।
कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने उपयाहरुमा
– नियमित रूपमा साबुनपानीले हात धुने
– खोक्दा र हाछ्युं गर्दा नाक र मुख छोप्ने
– फ्लू जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने
– फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने
– मासु तथा अन्डा राम्रोसंग पकाएर मात्र खाने