बुटबल–उपचारका क्रममा बिरामीको मृत्युपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उत्पन्न तनाव मंगलबारसम्म साम्य भएको छैन। अस्पतालमा कार्यरत चिकित्सक र विद्यार्थीलाई हातपात गर्नेमाथि कारबाहीको माग गर्दै चिकित्सकहरु धर्नामा बसेका छन् भने नेपाल चिकित्सक संघले दोषीलाई पक्राउ गरी कारबाही गर्न अल्टिमेटम दिएको छ ।
बिरामीको मृत्युपछि मृतकका आफन्तले उपचार कक्षमै डाक्टरलाई हातपात गरेपछि मेडिकल कलेजमा तनाव सिर्जना भएको थियो।
डाक्टरहरुले उपचार र आन्दोलनलाई सँगसँगै अगाडि बढाएको मेडिकल कलेजका जनसम्पर्क अधिकारी सुशील गुरुङले जानकारी दिए। उनले घटनामा संलग्नको खोजीका लागि अस्पताल प्रशासनले स्थानीय प्रशासनसँगको समन्वयमा पहल गरेको बताए।
नेपाल चिकित्सक संघका महासचिव डा.सन्तोष पोखरेलले ४८ घण्टाभित्र (बुधबारसम्म) डाक्टरलाई हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेर कारबाही नगरे संघर्षमा उत्रिने जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रिले हातपात गर्ने व्यक्तिको खोजी भईरहेको बताए। उनले विभिन्न ठाउँमा प्रहरी परिचालन गरी खोजी जारी राखेको बताए ।
नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो। त्यसपछि मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेण्ट(जेआर) डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए। घिमिरे सामान्य घाईते छन्।
गत शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
पछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको अस्पतालले जनाएको छ। उपचारमा संलग्न डाक्टरले कुटाई खाएपछि डाक्टरहरुको टिमले पनि बिरामीका आफन्तमाथि कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका भदा कर्णबहादुर गुरुङले उल्लेख गरे ।