बाँके- विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो।
त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ। योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन्।
यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका हुन्।
सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमारले मङ्गलबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँग नेपालगंजमा छलफल गरेका छन्।

नेपालगञ्ज नाका
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन्। हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ।
नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ।
यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ।
स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ। नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, 'यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ।'
दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ।
'यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ', प्रहरी उपरीक्षक ओलीले भने।
प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए।
उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताए।
बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे।
रासस