चितवन-भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालन गर्न लागेकाे छ। उपचारमा संलग्न चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने महानगरपालिकाले जनाएकाे छ।
सङ्घीय सरकारले यसअघि नै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ। सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पुर्याउने भएको हो।
महानगर प्रमुख रेणु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताइन्। उनले भनिन्, 'संघबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पुर्याउँछौँ।'
अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिइन्।
अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ। अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ।
बहिरङ्ग सेवा र ५० शय्याको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया सङ्कलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए।
यससँगै ती शय्यामा आवश्यक सामाग्री उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवस्थापन गरिँदै छ। बिहीबार दिनभरमा १० शय्याका सघन उपचार कक्ष र १० शय्याको हाई डिपेन्डेन्ट यूनिट (एचडियु) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ।
सोका लागि आवश्यक प्रयोगशाला, एक्स-रे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानी लगायतका काम भइरहेका छन्। बुधबार बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन्।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताए।
महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मङ्गलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो। जिल्लामा हालसम्म चार शङ्कास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ। रासस