काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित एक जनालाई सानो भर्याङबाट पक्राउ गरेको छ।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा गोरखाको आरुघाट घर भएका युवराज न्यौपाने छन्। उनले सानो भर्याङमा दीप ओभरसिज ट्रेडर्स सञ्चालन गर्दै आएका थिए।
सोही ट्रेडर्समा गोदाम गरेर राखेको उक्त मास्क कालोबजारी गरी महँगो मूल्यमा बेच्न डिल भइरहेको थियो। एसएसपी थापाका अनुसार ती मास्क प्रतिगोटा २० रुपैयाँदेखि ३० रुपैयाँमा कारोबार गर्ने आशयको म्यासेज मोबाइलमा आदानप्रदान भएको देखिएको छ।
कारोना भाइरसका कारण मास्कको माग बढेपछि व्यापारीहरुले कालोबजारी गरेर महँगो मूल्यमा बेच्न लागेका हुन्। यसअघि पनि प्रहरीले राजधानीका विभिन्न ठाउँबाट १० लाखभन्दा बढी मास्कसहित एक दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ।