काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विदेशीसहित पाँच जना भर्ना भएका छन्।
कोरोनाको आंशकामा उनीहरुमध्ये चारजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। एक जनालाई आइसियुमा भर्ना गरी उपचार भइरहेको छ। आइसियुमा भर्ना हुने व्यक्ति बेलायतका नागरिक भएको अस्पतालले जनाएको छ। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आइसियुमा भर्ना गरिएको हो।
अस्पतालका निर्देशक सागर राजभण्डारीले उनीहरुको कोरोना परीक्षण रिपोर्ट बेलुका ८ बजेसम्म आउने सम्भावना रहेको बताए।
उनले भने,‘बेलुका रिपोर्ट नेगेटिभ आएमा आइसोलेसनमा भर्ना भएका व्यक्ति डिस्चार्ज हुनसक्ने सम्भावना छ।’ टेकु अस्पतालले पाँच वटा आइसोलेसन र ५ आइसियु सञ्चालन गरिरहेको छ भने थप १० आइसियु बिस्तार गर्ने तयारी छ।
अस्पतालको आइसोलेसन र आइसियुमा बिरामी बढी भएमा पाटन अस्पतालमा पठाउने व्यवस्था मिलाएको जनाएको छ।