डा केनिसन श्रेष्ठ
मानसिक अस्पतालमा दिनहुँ विभिन्न प्रकारका मानसिक समस्या भएका मानिस उपचारका लागि आउने गर्छन्। यही क्रममा कोरियामा कोरोना भाइरसको समाचार फैलिएपछि केही हप्ता अगाडि नेपाल फर्केका एक व्यक्ति पनि अस्पताल आएका थिए।
नेपाल फर्किएपछि विगत १० दिनदेखि उनलाई निद्रा नलाग्ने समस्या देखापर्यो। विदेशबाट आएको हुनाले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भयो कि वा संक्रमण भएर अरुजस्तै मरिन्छ कि भन्ने सोचाइले बारम्बार सताइरहेको थियो। उनलाई छटपटी, बेचैनी भइरहने, श्वास फेर्न गाह्रो हुने र मुटुको धड्कन बढेको महसुस हुने जस्ता समस्या बढ्दै गएको थियो।
यस्तै श्रीमान् वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका र विगत ५ वर्षदेखि काठमाडौँ बस्दै आएकी एक महिला पनि कोरोन संक्रमणको समाचार सुनेपछि आफू सतर्क र चिन्तित भएको भन्दै अस्पताल आएकी थिइन्। आफ्ना छोराछोरीलाई कोरोना लाग्ला कि भनेर उनलाई चिन्ता लागिरहन्थ्यो।
संक्रमणबाट बचाउन छोराछोरीलाई घर बाहिर जान नदिने, गइहाले पनि आउने बित्तिकै नुहाइदिने, बच्चालाई दिनमा ३÷४ पटकसम्म पनि नुहाइदिने, आफू पनि बारम्बार सरसफाइ गरिरहने र कुनै समान छुनेबित्तिकै स्यानिटाइचर प्रयोग गर्न थालिन्।
विदेशमा बसेका श्रीमानलाई पनि बारम्बार सम्झाइरहने र श्रीमानको सामान्य लक्षण छ कि छैन सोधिरहने गर्न थालिन्। त्यसले गर्दा उनलाई रातमा नआउने र सामान्य काम पनि गर्न नसक्ने हुन थालेको भन्दै उनी रुँदै अस्पताल आएकी थिइन्।
कोरोना भाइरसको विश्वव्यापी महामारी हुँदैगर्दा मानिसमा चिन्ता तथा आत्तिने समस्या देखा पर्ने क्रम पनि बढ्दै गइरहेको छ। चिन्ताका कारण जनमानसमा यसको संक्रमणबाट कसरी बच्ने भन्ने सोचहरु आउनु स्वभाविक नै हो। यस्ता सोच, चिन्ता तथा तनाव बढ्दै गएर मानसिक रोगको विकास हुन नदिन यस्ता उपाय अपनाउनु पर्छ।
कोरोना भाइरससँग सम्बन्धित चिन्ता रोगका लक्षण
– बारम्बार किटाणु तथा संक्रमणको सोचाइ आउनुका साथै मन चिन्तित तथा व्याकुल रहने।
– यसै सोचाइका कारण आफ्नो दैनिक कार्य सम्पादनमा असर पर्नु।ण्
– धेरै समय यिनै सोचाइमा व्यस्त रहने (१ घन्टा वा बढी समय) वा आफ्नो प्रायः समय किटाणु संक्रमणबाट बच्ने उपायहरुतिर व्यस्त रहने (धेरै पटक हात धुने, बारम्बार सरसफाइ गरिरहने, इत्यादि)।
तनाव व्यवस्थापन गर्ने उपाय
– रोगको लक्षण तथा अन्य जानकारी पाउन भरपर्दो तथा भरोसायोग्य लेख, समाचार वा कुनै संगठनको लेख (विश्व स्वास्थ्य संगठन) र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) हेर्ने।
– इन्टरनेट वा सामाजिक सञ्जाल अत्यधिक मात्रामा नचलाउने वा यस्तो कुरामा आफ्नो समय कटौती गर्ने। यसरी सामाजिक सञ्जालमा देखिने भ्रामक समाचार ( अनावश्यक कोरोना संक्रमित तथ्यांकहरु वा आफ्नो ठाउँ वरिपरि फैलिएका झुठो समाचार) हरुले जनमानसमा झन् चिन्ता तथा तनाव बढाउने गर्छ।
– आफ्नो हेरचाह स्वयं गर्ने। (आफ्नो स्वयं तालिका निर्धारण गर्ने, नियमित व्यायाम गर्ने, निद्रा तथा खानपिनमा ध्यान दिने, भीडबाट टाढा रहने तर अरुबाट अलग र एक्लिएर नबस्ने)
– यदि चिन्ताको समस्या बढ्दै गएमा वा आफ्नो दैनिक कार्यमा असर पर्दै गएमा नजिकको मानसिक स्वास्थ विज्ञसँग परामर्श लिनुपर्छ।
(डा श्रेष्ठ मानसिक अस्पताल लगनखेलका मनोरोग विशेषज्ञ हुन्)
यो पनि :