काठमाडौं– सार्वजनिक यातायातको क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष सरोकारवालाहरुले निकालेका छन्।
बुधबार यातायात व्यवस्था विभागमा व्यवसायी, ट्राफिक प्रहरी, स्वास्थ्य विभागका प्रतिनिधि, यातायात मजदूरलगायतको छलफलका सहभागीले मानिसको धेरै आवतजावत हुने सार्वजनिक यातायात निकै जोखिममा रहेका बताएका छन्।
सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदूरदेखि यात्रुसम्मको स्वास्थ्य जोखिम कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कोरोना भाइरस देखिएको अवस्थामा सबैभन्दा छिटो संक्रमण फैलने सम्भावना सार्वजनिक यातायात नै भएकाले यो क्षेत्रमा आवश्यक कदम चाल्न व्यावसायीहरुले माग गरेका छन्।
पहिलो चरणमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्वास्थ्य विभागका प्रतिनिधि, स्वास्थ्य मजदूरलगायतको छलफलमा कोरोना संक्रमण देखिएको अवस्थामा के गर्न सकिन्छ भन्नेबारे छलफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘हामीले सरोकारवालासँग छलफल गरेका छौं,’ उनले भने, ‘नियमित छलफलमा रहने र कोरोना देखिएको अवस्थामा के गर्न सकिन्छ भन्ने कुरा समेत पहिल्याउँदै जाने योजना बनाएका छौं,’ उनले भने।
व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गराउने अवस्था आइनसकेकाले आवश्यक तयारीका लागि सरकारले भूमिका खेल्नुपर्ने माग गरेका छन्। ‘स्वार्थभन्दा माथि उठेर काम गर्न हामी तयार छौं। तर सरकारले त्यही अनुसार व्यवसायी, मजदूरलगायतको विषयलाई त ध्यान दिनुपर्यो,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने।
शैक्षिक संघसंस्था बन्द भएको अवस्थामा उपत्यकाबाट बाहिरने यात्रुका लागि रुटपर्मिट खुल्ला गर्ने विषयमा समेत छलफल भएको उनको भनाइ छ।
हेल्थ डेस्क राख्न व्यवसायीको माग
यातायात व्यवसायीहरूले भीडभाडमा हुने ठाउँ र बसपार्कहरूमा हेल्थ डेस्क राख्न माग गरेका छन्। विभागमा सरोकारवालाहरूसँगको छलफलमा व्यवसायीले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन्।
देशका विभिन्न बसपार्कहरू, धेरै भीडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल, कोटेश्वरलगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए। यस विषयमा यातायात व्यवस्था विभाग तथा स्वास्थ्य विभाग सकारात्मक रहेको सिटौलाको भनाइ छ।
बजारमा मास्क किन्न जाँदा नपाइने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने उनको जिकिर थियो। स्वास्थ्य विभागसँगको समन्वयमा एक/दुई दिनमा नयाँ बसपार्कमा हेल्थ डेस्क खोल्ने कुरा भएको सिटौलाले बताए।
सवारी घट्न थाले
यातायात व्यावसायीले सार्वजनिक सवारीको चाप ४० प्रतिशतसम्मले घटेको दाबी गर्दै आएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक रुपमा सार्वजनिक गर्ने उपत्यकाबाट बाहिरिने र भित्रने सवारीको संख्यामा ठूलो उताचढाव देखिँदैन। मंगलबार उपत्यकाका विभिन्न नाकाबाट १६ हजार २ वटा सवारीबाट ९० हजार २ सय ३० यात्रु भित्रिएका छन् भने १७ हजार ५ सय २५ वटा सवारीबाट ९१ हजार ८ सय १६ जना यात्रु बाहिरिएका छन्।
फागुन २८ मा काठमाडौं उपत्यकामा १७ हजार २ सय २२ सवारीमार्फत् ८९ हजार २ सय ३७ यात्रु भित्रिएका थिए। त्यस्तै सोही दिन १६ हजार ४ सय ७३ सवारीबाट ८६ हजार ९ सय ९१ यात्रु काठमाडौं भित्रिएको तथ्यांक महानगरी ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ।
एक साताको तथ्यांक हेर्ने हो भने उपत्यका भित्रने केही सवारी र यात्रुको संख्यामा कमी आएको देखिन्छ। सवारी तथा यात्रुको संख्या कम हुँदै जानुको कारण कोरोनाको त्रास नै भएको यातायात व्यवसायीहरुले बताएका छन्।