फाइल तस्बिर
काठमाडौं— नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई थप सचेत हुन अनुरोध गरेको हो।
काउन्सिलले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई ८ बुँदे निर्देशन दिएको छ। सर्वसाधरणलाई भने संक्रमणबाट जोगिने ४ बुँदे अनुरोध जारी गरेको छ। काउन्सिलले सर्वसाधारणलाई अत्यावश्यक अवस्था बाहेक अस्पताल नजान आग्रह गर्दै सामान्य रुघाखोकी लागेमा घरमै बसी उपचार गर्न समेत भनेको छ।
सर्वसाधारणका हितका लागि ४ बुँदे सुझाव
— अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका स्थितिमा सकेसम्म अस्पताल नजाने। सामान्य रुघाखोकीमा घरमै बसी उपचार गर्ने ।
— केही समय पछाडि सम्पन्न गरे पनि हुने शल्यक्रिया तथा यस्तै प्रकृतिका सेवाहरु स्थिति साम्य भएपछि गर्ने।
— भिडभाड नगर्ने÷नगराउने । खोकी लागेका, ज्वरो आएका व्यक्तिको नजिक नजाने।
—नछोएपनि हुने वस्तु नछने । अवान्छित र अपरिचित सामान वा व्यक्ति छोएपछि हात धुने।
यस्ता छन् अस्पताल र स्वास्थ्यकर्मीलाई ८ बुँदे निर्देशन
— एकसय शय्याभन्दा माथिका अस्पतालहरुले व्यक्तिगत सुरक्षा उपचारकण ( पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) सहित अलग्गै ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्ने।
— अत्यावश्यक नभएका (इलेक्टिभ) शल्यक्रिया तथा उपचार विधिहरू क्रमिक रुपमा कम गर्दै उपचारका श्रोतलाई प्रकोपका लागि सुरक्षित गर्दै जाने।
— स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउने।
— अस्पताल तथा उपचार केन्द्रमा अनावश्यक भीड कम गर्न आवश्यक व्यवस्था मिलाउने।
— हालका लागि जनरल हेल्थ चेकअप क्लिनिकहरू सञ्चालन नगर्ने।
— अत्यावश्यक बाहेकका दन्त चिकित्सा सेवा सञ्चालन नगर्ने तथा गर्नैपर्ने भएमा व्यक्तिगत सुरक्षा उपकरण (पर्शनल प्रोटेक्सन इक्युपमेण्ट) सहित मात्र गर्ने।
— सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा वैज्ञानिक तथा प्रमाणित भएका सूचना मात्र सम्प्रेषण गर्ने।
— अत्यावश्यक सेवाका लागि मात्र अस्पताल आउन सर्वसाधारणलाई अनुरोध गर्दै सूचना जारी गर्ने ।
