काठमाडौं- सरकार पाँचौ दादुरा-रुबेला खोप अभियानको दोस्रो चरण नरोक्ने बताएको छ।
विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्ने नेपालका विद्यालय, कलेज, सिनेमाघर लगायतका मानिसको भीड हुने स्थान बन्द गर्ने निर्णय गरेपछि अभियान पनि स्थगित गर्नुपर्ने आवाज उठिरहेको थियो।
दोस्रो चरण अन्तर्गत दोस्रो चैत १ गते सुरु भएको हो। जसअन्तर्गत प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने लक्ष्य छ।
सरकारले सर्वसाधारणलाई २५ जनाभन्दा बढीको संख्यामा जम्मा भई भीडभाड गर्न रोक लगाएपछि स्वास्थ्यकर्मीले खोप अभियान सयौँ भीड हुने भन्दै तत्काल स्थगित गर्न माग गरिरहेका छन्।
परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले अभियानको अन्तिम चरण भएकाले बीचमा रोक्न नमिल्ने बताए।
मनाङ, मुस्ताङ र हुम्लामा भने तत्कालका लागि अभियान सञ्चालन हुने छैन। ती जिल्लाका बासिन्दा जाडोका कारण जिल्ला छोडेकाले गर्मी लागेपछि अभियान सञ्चालन हुने शर्माले जानकारी दिए।
उनले भने, ‘हामी अन्तिम चरणमा छौँ। स्वास्थ्यकर्मीलाई भीड व्यवस्थापन गरी खोप अभियान सञ्चालन गर्न भनेका छौँ। अलि भीड हुने काठमाडौंमा हो, अन्यत्र यस्तो समस्या कम छ।’
अभियानमा संलग्न एक स्वास्थ्यकर्मीले स्वास्थ्यखबरसँग भने,‘सरकारले २५ जनाभन्दा बढी जम्मा नहुनु पनि भनेको छ। खोप लगाउने सयभन्दा धेरैको भीड हुन्छ। त्यसले एकखालको डर उब्जाएको छ।’
उनले बिहीबार आफू संलग्न काठमाडौं एक स्वास्थ्य संस्थामा एक हजारभन्दा बढी बालबालिकालाई खोप लगाएको बताए।
सरकारले फागुन महिनामा पहिलो चरणको अभियान सम्पन्न गरिसकेको छ। यो दोस्रो तथा अन्तिम चरण हो।
पहिलो चरण अर्थात फागुन महिना भर प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लामा यो अभियान सञ्चालन भएको थियो। जसअन्तर्ग ती जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा-रुबेला खोप दिइने छ।