काठमाडौं- सधैँ भरिभराउ देखिने स्वास्थ्य मन्त्रालय यतिबेला सुनसान छ। मन्त्री र केही कर्मचारीबाहेक अन्य मानिस मन्त्रालयमा भेटिन छाडेका छन्।
विश्वमा १० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको त्रासका कारण अनेक गुनासा बोकेर देशका विभिन्न स्थानबाट मन्त्रालय आउने सर्वसाधारण घटेका हुन्।
शुक्रबार मन्त्रालयभित्र छिर्दा मानिसको चहलपहल निकै कम थियो। महाशाखा, शाखामा पनि कर्मचारी र सर्वसाधारणको उपस्थिति निकै कम थियो।
स्वास्थ्यमन्त्रीको सचिवालयमा पुग्दा केही सर्वसाधारण उपचार खर्च मिनाहाका लागि सचिवालयका कर्मचारीसँग अनुरोध गरिरहेका थिए।
त्यसबाहेक अन्य महाशाखा, शाखाका प्रमुख आफ्नो कक्षमा थिएनन्। त्यहाँ केही कर्मचारी र कार्यालय सहयोगी मात्र थिए।
सबैमा एक किसिमको त्रास देखिन्थ्यो। एक कार्यालय सहयोगी भन्दै थिइन, ‘कोरोना कसै न कसैलाई त पक्कै देखिएको होला नि? कसैलाई पनि नदेखिएको भए किन सबै बन्द भएको होला त?’
उनीहरु केही समयको लागि प्राविधिक बाहेकका कर्मचारीलाई बिदा दिनुपर्ने माग गरिरहेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न काम लिएर आउने सेवाग्राही ९० प्रतिशतले कम भएका छन्।
सरकारले केही दिनअघि विद्यालय बन्द, भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने लगायतका निर्णय गरेपछि मन्त्रालय आउने सर्वसाधारण घटेका हुन्।
मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘कोरोना संक्रमणको खबर फैलिएदेखि नै मन्त्रालयमा भीडभाड कम हुन थालेको थियो। यो सातादेखि त कर्मचारी बाहेक अन्य मानिस पूरै घटेका छन्।’
मन्त्रालयमा कर्मचारी, जनसरोकारका विभिन्न विषय लिएर पुग्ने गर्छन्। कोरोनाको त्रास फैलिएपछि मानिसहरु बाहिर कम निस्कन थालेको प्रभाव मन्त्रालयमा देखिएको हो।