काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार जनरल बेड र २० वटा भेन्टिलेटर खरीदका लागि प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले बेड र भेन्टिलेर खरीदका लागि प्रक्रिया अघि बढाएको हो।
व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले खरीद प्रक्रियाका लागि बिहीबार टेन्डर आह्वान गरिएको बताए।
उनले भने,‘मन्त्रालयले एक हजार जनरल बेड र २० भेन्टिलेटर खरीद गर्न भनेको छ। त्यही अनुसारको प्रक्रिया अगाडि बढाएकाछौं।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना भाइरस संक्रमण रोकथामको पूर्वतयारी स्वरुप जनरल बेड र भेन्टिलेटर खरीद गर्न लागिएको बताए। उनले बोलपत्रका लागि एक हप्ताको समय दिइएको पनि जानकारी दिए।
उनले भने,‘खरीपाटीस्थित तालिम केन्द्रलगायतका ठूला अस्पतालमा आइसोलेसन वार्ड बनाउनका लागि बेड किन्न लागिएको हो। अस्पतालमा कोरोनाका बिरामी देखियो भने उपचारमा सहज होस भनेर भेन्टिलेटर पनि किन्ने निर्णय भएको हो।'
उनले संक्रमण फैलिहालेमा उपचारका लागि २३५ आइसियु पनि तयारी अवस्थामा राखेको जानकारी दिए।
खरीपाटीमा पहिल्यै १७५ वेडको आइसोलेसन छ। गत माघमा चीनको बुहानबाट १७५ जना नेपाली ल्याइएका नेपालीलाई राख्न त्यहाँ १७५ वेडको क्वारेन्टाइन व्यवस्था गरिएको थियो।
सरकारले भक्तपुरको खरिपाटी, वीर, पाटन, टिचिङ र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरी एक हजार बेड आइसोलेसन वार्ड बनाउने भएको छ।
कारोना भाइरस (कोभिड १९) को संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी गर्दै आइसोलेसन बेडको आइसोलेसन बेड बिस्तार गर्न लागेको हो।
मन्त्रालयले ठूला अस्पतालहरुलाई ज्वरो क्लिनिक सञ्चालन गर्न र शंकास्पद बिरामीलाई आइसोलेसनमा राखि कोरोना भाइरसको जाँच गर्न पनि निर्देशन दिएको प्रवक्ता देवकोटाले बताए।
उनले भने,‘कोरोना संक्रमण भएका ८७ प्रतिशत मानिसमा ज्वरो र ६८ प्रतिशत मानिसमा खोकीको लक्षण देखिएकाले छुट्टै ज्वरो क्लिनिक सञ्चालन गर्न भनिएको हो।’
मन्त्रालयले ल्याब जाँचको दायरा बढाइने दम, मुटुका रोगी, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, व्यक्तिको परिक्षण गर्ने भएको छ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्दै आएको कोरोना भाइरस संक्रमण परीक्षण, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल काभ्रे, वीर अस्पतालबाट पनि गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।