काठमाडौं– विश्वका हरेक व्यक्ति कोरोना भाइरसबाट आतंकित छ। नेपाल पनि यसबाट अछुतो छैन।
काठमाडौंको विभिन्न बसपार्कमा घर जाने मानिसको भीडभाडले पनि यसको पुष्टि गर्छ। काठमाडौं छाडेर जाने मानिसको त्यो भीड हेर्दा लाग्छ, नेपालमा कोरोनाको महामारी फैलिसकेको छ। तर आत्तिहाल्नु पर्ने अवस्था भने छैन। नेपालमा अहिलेसम्म कारोना संक्रमण फैलिएको अवस्था छैन।
सरकारको तयारीप्रति विश्वास नभएर हो या कोरोनाको भ्रम ज्यादा फैलिएर हो, काठमाडौंको सडक अनि गल्लीहरु खाली र सुनसान छन्।
गत माघ १० गते चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। त्यसअघि नेपालमा सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी गरेको थिएन।
महामारी भित्रन नदिन आवश्यक पूर्वतयारी गरेको सरकारको रेडिमेट जवाफ छ। तर सरकारी निकायबीच अहिले पनि समन्वयको अभाव छ। विशेषगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको महाशाखाबीच।
त्यो समन्वयको अभाव आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा देखियो।
कोरोना भाइरसबारे जानकारी दिन महाशाखाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। स्वभाविक हो, पत्रकारले महाशाखाका निर्देशक डा वासुदेव पाण्डेलाई आफ्ना जिज्ञासा राखे, कयौँ प्रश्न गरे। तर डा पाण्डेसँग पत्रकारलाई दिने कुनै गतिलो जवाफ नै थिएन।
डा पाण्डले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘विदेशबाट फर्केकामध्ये ५० हजार जनाले होम क्यारेन्टाइनका लागि फारम भरे।’
‘फारम भरेका ती ५० हजार जनाको अवस्था के छ?’ पत्रकार सम्मेलनमा उठेको प्रश्न हो यो। तर फारम भरेका उनीहरु सबैको अवस्थाबारे महाशाखा अनभिज्ञ थियो।
डा पाण्डेले जवाफ दिए, ‘उनीहरुको अवस्थाबारे अनुगमन गर्ने तयारी हुँदैछ। अहिलेसम्म अवस्था थाहा छैन।’
भारत र चीनसँग जोडिएका ४१ नाकामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको टोली खटाएको छ। तर कुन नाकामा कति स्वास्थ्यकर्मीको टोली खटाइएको छ, यसबारे पनि महाशाखालाई जानकारी नै छैन।
पत्रकारले पुनः प्रश्न गरे, ‘कुन नाकामा कति स्वास्थ्यकर्मीको टोली खटाइएको छ?’ यो प्रश्नको जवाफ पनि आउन सकेन।
विश्वमा कोरोनाको महामारी फैलिएपछि नेपालमा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षाकवच (पिपिई) को विभिन्न अस्पतालमा अभाव हुन थालेको छ। कति अस्पतालमा पिपिईको अभाव छ? कति आवश्यक हो? यी सबको जानकारी पनि महाशाखालाई छैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको आशंकामा हालसम्म ६ सय १२ नमुना परीक्षण गरेको छ। जसमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो। तर नेपालमा राम्रोसँग परीक्षण भएन, सरकारले लुकायो भन्ने आवाजहरु धेरै उठ्ने गरेका छन्। यी आवाजलाई सरकारले न त गलत साबित गर्न सकेको छ न त स्पष्ट पार्न नै।
१ सय ८८ राष्ट्रमा फैलिएको कोरोनाले १३ हजार बढीको ज्यान लिएको छ। यो सामान्य होइन। स्वास्थ्य सेवा राम्रो भएका विकसित राष्ट्रमा कोरोनाको महामारी नियन्त्रण गर्नु ठूलो चुनौती भएको छ भने नेपालमा महामारी फैलियो भने के होला?
त्यसैले महामारीको यो समयमा निकै महत्वपूर्ण जिम्मेवारी लिएका यस्ता महाशाखा र निकायहरुबीच समन्यव हुन अति नै आवश्यक छ।