काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले नेपालका स्वास्थ्यकर्मीका लागि (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिई उपलब्ध गराएको छ।
एएनएमएफ अमेरिकामा रही नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक वर्गको साझा संस्था हो।
एएनएमएफले कोरोना भाइरस संक्रमणको उपचारमा आवश्यक पर्ने ७ सय थान पिपिई उपलब्ध गराउने छ। जसमध्ये १७५ पिपिई विभिन्न अस्पतालमा उपलब्ध गराइसकेको छ।
फाउन्डेसनले कान्ति बाल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णली प्रदेश अस्पताल र नेपाल एम्बुलेन्स सर्भिसलाई पिपिई उपलब्ध गराएको हो।
फाउन्डेसनले चितवन, पोखरा, दाङ, कोशी अस्पताललाई पनि पिपिई दिने छ।
फाउन्डेसनका अनुसार त्रिवि शिक्षण अस्पताललाई २५ सेट, कान्ति बाल अस्पताललाई २०, वीर अस्पताललाई २५, पाटन अस्पताललाई २५, भरतपुर अस्पताल २० थान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णली प्रदेश अस्पताललाई १०–१० पिपिई सेट उपलब्ध गराएको फाउन्डेसनको नेपाल अध्यक्ष डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
अस्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेण्टल एसोशिएसन, असिमेड फाउन्डेसन र सोसाइटि अफ अमेरिकन नर्सको सहकार्यमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनले कोेरोना भाइरस संक्रमणको उपचारमा आवश्यक पर्ने पिपिई उपलब्ध गराएको हो।
एएनएमएफका अध्यक्ष डा सन्तोष सापकोटाका अनुसार कोरोना संक्रमितको उपचारको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा र संक्रमण रोकथामलाई मध्यनजर गर्दै पिपिई उपलब्ध गराएका हौं।
एएनएमएफले नेपालमा कोरोना भाइरस संक्रमण विरंद्ध लड्न आर्थिक सहयोग पनि गर्ने भएको छ। यसका लागि एएनएमएफले सहयोग संकलन सुरु गरिसकेको डा सापकोटाले जानकारी दिए।
नेपालमा कोरोना भाइरस संक्रमण विरुद्ध लड्न फाउन्डेसनले १ करोड बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
(सहयोग गर्न चाहनेले यो https://www.facebook.com/donate/2656080261188168 लिंकमा गएर सहयाेग गर्न सक्नुहुने छ।)
एएनएमएफले कोरोनाका विषयमा परामर्श दिन टेलिमेडिसिन सेवा समेत सुरु गर्ने भएको छ। यसका लागि एएनएमएफले टिचिङ अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न कम्प्युटर र मोबाइल सहयोग गरेको छ।
