काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले कोरोना भाइरसको संक्रमण देखिएकी युवती चढेको विमानका अन्य यात्रुको खोजी गर्न निर्देशन दिएको छ।
इकाईले स्वास्थ्य मन्त्रालय माताहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई विमान रहेका अन्य यात्रुसहित ती युवातीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी गर्न निर्देशन दिएको हो।
इकाईले उक्त विषयका विवरण २४ घन्टाभित्र पेश गर्न भनेको छ।
‘यात्रुको परिवारका सदस्यहरु, नेपाल आउँदाको फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरु र उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्र्यासिङ कार्य तुरुन्त सूचारु गरी क्वारेन्टाइन लगायतका कार्यहरु भए नभएको एकिन गर्नुहुन र प्रोटोकल अनुसार जे गर्नुपर्ने हो सोही अनुसार गरी २४ घन्टाभित्र प्रगति विवरढा पेश गर्नुहुन निर्देशानुसार अनुरोध छ,’ इकाईले महाशाखामा पठाएको पत्रमा उल्लेख छ।
यही ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक १९ वर्षीय युवातीलाई कोरोना संक्रमण देखिएको हो। उनलाई कोरोना संक्रमण देखिएपछि इकाईले अन्यको पनि खोजी सुरु गर्न भनेको हो।
कोरोना संक्रमण देखिएकी ती युवतीकाे टेकुस्थित शुक्रराव ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
