काठमाडौं- सरकारले एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको छ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिले नेपालभर कोरोना संक्रमण देखिन सक्ने भएकाले भोली बिहान ६ बजेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरेको हो।
समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द भएका छन्।
समितिले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म कुनै पनि व्यक्ति घर बाहिर निस्कन नमिल्ने आदेश दिएको हो।
उच्चस्तरीय समितिको बैठको निर्णय गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले औषधिउपचार र अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने निर्णय गरिएको जानकारी दिए। बैठकले अस्पताल, सुरक्षाकर्मी तथा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने निर्णय गरेको पनि खतिवडाले बताए।
सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक कुनै पनि आन्तरिक उडान सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ। सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार, क्वारेन्टाइन जस्ता अत्यावश्यक पर्ने कर्मचारी मात्र हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि बैठकले गरेको छ।
औषधि, खाद्यवस्तु, दूध र इन्धन जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले व्यवसायीले औषधि तथा औषधिजन्य वस्तु तथा अन्य अत्यावश्यक वस्तुको कालोबजारी तथा अवैध भण्डारण गर्ने तथा आपूर्तिमा अवरोध गर्नेमाथि कालोबजारी ऐनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले बताए।
संक्रमक रोग ऐनअनुसार भएको यो निर्णय कार्यान्वयनको व्यवस्था मिलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र स्थानीय प्रशासन ऐन २०२८ को आवश्यकताअनुसार प्रयोग गर्ने निर्णय पनि गरिएको छ।