काठमाडौं–नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस परीक्षण चित्तबुझ्दो भएको उल्लेख गर्दै तत्काल क्षमता भने बढाउनुपर्ने बताएको छ।
स्वास्थ्य मन्त्रालयको अनुरोधमा नेपाल आएका डब्लुएचओका प्रतिनिधि डा जोनाथन आस्क्रोफ्टको प्रतिवेदनका आधारमा उसले हाल नेपालको कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको, ल्याब उपकरण र जनशक्ति क्षमतावान रहेको उल्लेख गर्दै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने बताएको हो।
संगठनले नेपाल सरकारको आग्रहमा नेपालस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म जोनाथनलाई खटाएको थियो। डा जोनाथनले प्रयोगशालाको अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा संगठनले सोमबार नेपाल सरकारलाई सुधारको सिफारिससहित पत्र पठाएको हो।
पत्रमा तत्काल कोरोनाको नमुना परीक्षण क्षमता विस्तार गर्नुपर्ने उल्लेख छ भने नेपालको परीक्षण विश्वसनीय भएको बताएको छ।
कोरोना भाइरसको नमूना परीक्षणका लागि हाल केन्द्रीय प्रयोगशालामा मात्र भएको समेत संगठनले उल्लेख गरेको छ। प्रयोगशालाको उच्च गुणस्तरीय परीक्षण भएको र सबै परीक्षणका क्रममा सबै प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ।