बाग्लुङ- नोबेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका एक युवालाई घरमै क्यारेनटाइनमा राखिएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइएपछि उनीसँगै आएका व्यक्तिको खोजी भइरहेको थियो।
उनीसँगै एउटै जहाजमा आएका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा अलग्गै घरमा क्यारेनटाइनमा राखिएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले बताए। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलिपल्ट गृह जिल्ला आएका थिए। अहिले उनी आफ्नै जन्मगाउँमा रहेको अनुगमनमा पाएको उनले बताए।
'हामी उहाँको घरमा पुगेर आएका छौ, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, मेयर नेपालीले भने, ‘तर पनि १४ दिनसम्म होम क्वारेनटाइनमा बस्न सल्लाह भएपछि नमूना लिएर हामी फर्केका छौ।’
चिकित्सक र प्रहरी टोली लिएर नगरपालिका बिहानै ती युवाको घरमा पुगेको थियो। घरमा पुग्दा उनी स्वस्थ्य रहेको देखेपछि अलग्गै बस्न सल्लाह दिएर फर्केको हो। आइसोलेसनमा राखेर परीक्षण र थप उपचार लगायतका प्रक्रिया गर्न नपर्ने देखिएकाले निगरानीमा रहने गरि होम क्यारेनटाइनमा राखिएको उनले बताए ।
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ।