काठमाडौं - कोरोनाको आशंकामा कान्ति बाल अस्पतालमा भर्ना भएका तीन बालकमध्ये एक जनाको रिपोर्ट आएको छ। बाँकी दुई जनको रिपोर्ट भने आउन बाँकी छ।
अस्पताल निर्देशक डा कृष्ण पौडेलका अनुसार रिपोर्ट आएका बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। ‘आइतबार भर्ना भएका एक बालकको रिपोर्ट नेगेटिभ आएको हो,’ उनले भने, ‘अब सोमबार दुई जना भर्ना भएकाहरुको रिपोर्ट आउन बाँकी छ।’
कोरोनाको आशंकामा उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन्।
उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालले जनाएको छ। जसमध्ये भारतबाट फर्किएका बालकमा रिपोर्ट नेगेटिभ आएको हो।
यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।