काठमाडौं - कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ५० जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।
सोमबार संकलन भएका ५० जना सबैको रिपोर्ट नेगेटिभ आएको राष्टिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। कोरोनाको आशंकामा अहिले ६० जनाको नमूना परीक्षण भइरहेको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
उनले भने, ‘५० जना सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले ६० जनाको परीक्षण हुँदैछ। यो संख्या बढ्न पनि सक्छ।’
यो सँगै कोरोनाको आशंकामा परीक्षण गराउनेको संख्या ६ सय ६० पुगेको गुप्ताले जानकारी दिए।
दैनिक ९ सय जनाको परीक्षण गर्न सक्छौ : प्रयोगशाला
कोरोना भाइरसको शंकास्पद बिरामीको परीक्षण गर्नेको संख्या बढेको भन्दै प्रयोगशालाले आफ्नो क्षमता विस्तार गरेको छ।
परीक्षणका लागि प्रयोगशालाले चार वटा ल्याब प्रयोगमा ल्याएको सूचना अधिकारी गुप्ताले जानकारी दिए। चार वटा ल्याब प्रयोगमा आएसँगै प्रयोगशालाले दैनिक ९ सय जनाको परीक्षण गर्न सक्ने उनले बताए।
उनले भने, ‘यसअघि हामीले एउटा ल्याबमा मात्र परीक्षण गथ्र्यौँ। अहिले प्रयोगशालामा रहेको चार वटै ल्याबमा काम सुरु गरेका छौँ। अब हामीले दैनिक ९ सय नमूना परीक्षण गर्न सक्छौँ।’