काठमाडौं— कोरोना भाइरस संक्रमित व्यक्तिको जानकारी दिने सन्दर्भमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असन्तुष्टि जनाएका छन्। उनले बुधबार मन्त्रालयको नियमित कोरोना भाइरस बिफ्रिङ गर्ने क्रममा यस्तो असन्तुष्टि जनाएका हुन्।
बुधबार टेकुस्थित शुक्राज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि नियमित बिफ्रिङ अगावै सूचना बाहिर आएको थियो। स्वास्थ्य मन्त्रालयको आधारिक वेवसाइटमा पनि उक्त जानकारी दिइएको थियो।
तर, वेवसाइटमा राखिएको सो जानकारी केही समयपछि हटाइएको छ। स्रोतका अनुसार मन्त्रीलाई जानकारी नगराई सो विवरण सार्वजनिक गरिएको बताइएको छ।
उनले कोरोना भाइरस संक्रमणका विषयमा सर्वत्र प्रवक्ता भएको भन्दै यस्तो परिपाटीको अन्त्य गर्दै चेन अफ कमाण्डको वातावरण बनाउनुपर्ने बताएका हुन्।
उनले सूचना प्रवाहलाई व्यवस्थित गराउन अनलाइन बिफ्रिङ सुरु गरेको बताए।
ब्रिफिङका क्रममा उनले चैत ६ गते कतारबाट नेपाल आएका ३२ वर्षिय युवामा कोरोना संक्रमण देखिएको पनि जानकारी दिए।
धादिङ निवासी उनी नेपाल आएर होटलमा बसेका थिए। स्वास्थ्यमा असहजता आएपछि उनी टेकु अस्पताल पुगेका थिए। मन्त्री ढकालले भने,‘उहाँ बसेको होटेल, सम्पर्कमा आएका र सम्भावितहरु खोजी गर्ने कार्य भइरहेको छ।'