काठमाडौं- कोरोना संक्रमण देखिएका युवा एयर अरबियाको विमानबाट नेपाल आएका थिए। धादिङका ३२ वर्षिय युवालाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरबियाको विमानबाट नेपाल आएको आधिकारीक जानकारी दिएको हो।
मन्त्रालयका अनुसार ती युवा एयर अरबियाको फ्लाइट नम्बर जि९ ५३७ नम्बरबाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका हुन्। उनी चैत ६ गते (मार्च १९) नेपाल आएका हुन्। विमान उक्त दिन बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।
६ गते नेपाल आएका उनी १० गते मात्र उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए। उनको मंगलबार राती प्रयोगशाला परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। उनलाई अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मिडिया ब्रिफिङका क्रममा ती युवा कतारबाट आएको बताएका थिए। तर, ब्रिफ्रिङका क्रममा मन्त्रीले बोलेको कुरामा त्रुटि भएपछि मन्त्रालयले आधिकारी फेसबुक पेजमार्फत विमानका विषयमा सूचना जारी गरेको हो।