काठमाडौं- कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मीको प्रयोगशाला परीक्षणको रिपोर्ट आएको छ। रिपोर्ट अनुसार ती स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण भेटिएको छैन।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा कार्यरत ती स्वास्थ्यकर्मीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई आवश्यक जाँचपछि अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो। त्यसपछि उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
रिपोर्ट बिहीबार बिहान आएको हो। रिपोर्टमा कोरोना नेगेटिभ लेखिएको अस्पताल स्रोतले जानकारी दियो। अस्पतालका अनुसार उनको स्वास्थ्यमा निकै सुधार आइसकेको छ।
विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मीसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले सुरक्षा कवच पिपिई उपलब्ध गराउन माग गरेका छन्।
व्यक्तिगत सुरक्षात्मक उपकरण अर्थात् पिपिई, संक्रमित तथा आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिन्छ।
संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई पिपिईको खाँचो पर्छ। मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ।
स्वास्थ्यकर्मी नै हुन्, जो बिरामीको सिधा सम्पर्कमा आउँछन्। बिरामी निको नभएसम्म चिकित्सक तथा स्वास्थ्यकर्मी उनीहरुको लामो सम्पर्कमा रहनुपर्छ।
जसलाई कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी जोखिम र खतरा छ, ती चिकित्सक नै हुन्। त्यसैले कोरोनाको संक्रमणबाट बच्न पिपिई स्वास्थ्यकर्मीका लागि सुरक्षा कवज नै हो। तर, नेपालमा अहिले पिपिईको अभाव छ।
स्वास्थ्य मन्त्रालयले पिपिईको खरिद प्रक्रिया अगाडि बढाइसकेको छ।