स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ ।
काठमाडौैं– यतिबेला देशमा कोरोना भाइरस संक्रमण त्रास फैलिएको छ। देशभर लकडाउन गरिएको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय यसको व्यवस्थापनमा जुटिरहेको छ कि भन्ने लाग्छ। तर, यो संकटको समयमा मन्त्रालयमा मन्त्रीकै अगाडि दुई उच्च पदस्थ कर्मचारीबिच झण्डै हात हालाहालको स्थिति भएको छ।
स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीच मन्त्री भानुभक्त ढकालकै अगाडि 'तँ-तँ र म-म' भएको स्रोतले बताएको छ।
स्रोतका अनुसार सचिवले महानिर्देशकलाई कुराकानीका क्रममा तँ सम्बोधन गरेपछि महानिर्देशकले प्रतिवाद गर्दा विवाद बढेको थियो।
‘महानिर्देशकले पनि उसैगरी उत्तर दिनुभयो, त्यसपछि चर्काचर्की भएको हो,’ स्रोत भन्छ।
मन्त्रालयका अनुसार, यादव कोइराला र श्रेष्ठको बीचको द्वन्द्व पुरानै हो। यादव सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा नै समायोजनको विषयमा दुई जनाबीच निकै ठूलो विवाद भएको बताइन्छ।
‘समायोजनका समस्या लिएर सामान्य पुग्दा विवाद भएपछि सचिवले श्रेष्ठलाई झ्यालबाट फालिदिन्छु समेत भनेका थिए। सचिव अलि हेपाहा स्वाभावका छन्। उनले पहिले पनि पटकपटक श्रेष्ठलाई अपमान गरिरहेको हल्ला मन्त्रालयमा भइरहन्थ्यो,’ सो घटनाका एक प्रत्यक्षदर्शी भन्छन्।
शुक्रबारको घटनामा मन्त्रीले कुनै प्रतिक्रिया नजनाएको पनि स्रोत बताउँछन्। यही विषयमा लिएर मन्त्रालयका विभिन्न ट्रेड युनियनहरुले आपत्ति जनाएका छन्।
तर, नाम नभन्ने सर्तमा एक ट्रेड युनियनका पदाधिकारीले भने,‘यसरी कर्मचारीको अपमान गर्न पाइदैँन। मन्त्री र सचिव दुबैको प्रवृत्ति अपमान गरी बोल्ने खालको छ, यसरी कसरी काम गर्न सकिन्छ?’
मन्त्रालयका एक कर्मचारीले भने दुबैबिचको अनबन मन्त्रीका अगाडि प्रस्तुत गर्नु गलत भएको बताए।
उनले भने,‘हो दुबैबिच विवाद होला तर मन्त्रीकै अगाडि लड्नु भनेको उनको पनि अपमान गर्नु, उनीमाथि हावी हुन खोज्ने प्रवृत्ति हो। त्यो गलत हो।’
पछिल्लो समय स्वास्थ्य मन्त्रालयको कार्यशैली अस्थिर बन्दै गएको छ। कसले कसलाई काम लगाउने, कसले भनेको मान्ने, को मिडियामा आउने भन्ने विषय मन्त्री, सचिवबाटै चासो दिन थालिएको बताइएको छ।
विश्वमा आंतक मच्चाएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिन थालेका छन्।
संक्रमित अस्पताल पुग्नुअघि धेरै व्यक्तिको सम्पर्कमा आएको भनिएको छ। जसले थप संक्रमित देखिएन सक्ने सम्भावना बढाएको छ।
यस्तो अवस्था परिपक्क तयारी गरेर अघि बढ्नुपर्ने समयमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीबिचको झगडा हुनु गम्भीर विषय हो।