काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना भाइरसको संक्रमण देखिएका २ जनाको नजिकका नातेदार र सम्पर्कमा आएका व्यक्तिहरु मन्त्रालयको सम्पर्कमा नै रहेको जानकारी दिएका छन्।
कोरोना भाइरसका विषयमा जानकारी दिन आयोजित नियमित ब्रिफिङमा सल्लाहकार डा कार्कीले उक्त जानकारी दिएका हुन्। डा कार्कीका अनुसार संक्रमण देखिएका बिरामीको सम्पर्कमा आएकाहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन।
'उहाँहरुसँग संसर्गमा रहेका सबै व्यक्तिहरुको कन्ट्याक्ट ट्रयासिङ भइसकेको छ। उहाँहरु हाम्रो नियमित सम्पर्कमा हुनुहुन्छ,' उनले भने, 'अहिलेसम्म सम्पर्कमा आएकाहरु कोही पनि कोरोनाको लक्षण देखिएको छैन।'
सल्लाहकार डा कार्कीले संक्रमित दुबै जनाको सम्पर्कमा आएकाहरुमा लक्षण नदेखिएको बताए पनि हालसम्म कति जना मन्त्रालयको सम्पर्कमा आएका छन्। उनीहरुमध्ये कति जनाको नमुना परीक्षण भयो वा भएन लगायतका विषयमा भने जानकारी दिएका छैनन्।
ब्रिफिङका क्रममा संक्रमण देखिएका दुबै जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको र उनीहरुको स्वास्थ्यमा सुधार आएको जानकारी दिइएको छ।
डा कार्कीका अनुसार कोरोना उपचारका लागि काठमाडौंमा सरुवा रोग अस्पतालसहित पाटन र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा व्यवस्था मिलाइएको छ। ती अस्पतालमा जाँच गर्ने र कोरोना संक्रमण भए आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
ती अस्पतालमा स्वास्थ्यकर्मीलाई संक्रमण भएमा क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाइएको पनि उनले बताए।