काठमाडौं - मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।
करीब २० घण्टा लामो उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्। मुटुको धड्कन बढ्ने समस्या भएपछि प्रधानमन्त्री ओली बिहीबार राति साढे ११ बजे मनमोन कार्डियोथोरासिक एन्ड भास्कुलर टान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
उपचारपछि पूर्ण रुपमा स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। डिस्चार्जपछि उनी सरकारी निवास बालुवाटार पुगेको प्रेस सल्लाहकार थापाले बताए।
प्रधानमन्त्री ओलीको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई संक्रमणको उच्च जोखिम भएकाले भीडभाडमा नजान र विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिदै आएका छन्।