डा सन्देश दाहाल
कोरोनाको बारेमा समग्रमा भन्नुपर्दा यसलाई ‘सामान्य रुघाखोकी’ भनेर सुरुमा हल्का रुपमा टिप्पणी गरेको देशले अहिले संकटकाल लगाएर पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेर ठूलो जनधनको क्षतिसहित ठूलो मूल्य चुकाउनु परेको छ।
यो कत्तिको घातक छ भन्ने कुरा यसबाट पनि थाहा हुन्छ। छिमेकी देश चीनबाट सुरु भएको कोरोना‚ नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रो लागि तयारीको ठूलो अवसर हुन सक्थ्यो। तर‚ समयमा सोच्न नसक्ने वा परिस्थितिको गाम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठूलै दुर्घटना नहोला भन्न सकिने अवस्था रहेन।
कोरोना रोगको बारेमा सामान्य जानकारी!
• यो एक प्रकारको आरएनए भाइरसले हुन्छ।
• खोक्दा र हाच्छयूँ गर्दा एक मानिसबाट अरुलाइ सर्छ।
• शरीरबाट निस्केको भाइरस तीन दिनसम्म घरको विभिन्न भागमा सक्रिय रुपमा बस्न सक्छ! जस्तै: कपडा, ढोकाको चुकुल वा साँचो आदि।
• कोही मानिसमा संक्रमित भएको १४ दिनसम्म कुनैपनि लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाई आफ्नो वरिपरि‚ घर र छर-छिमेकमा अरुलाई रोग सारिरहेको हुन्छ।
• यसका लक्षणहरु भनेको सुक्खा खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने आदि हुन्।
• अझ सिकिस्त हुँदै गएमा छाती गर्हुंगो भएको अनुभव हुने, शरीर शिथिल हुँदै जाने, ओठ मुख निलो हुने आदि लक्षण देखिन सक्छ।
• सम्भवित लक्षण भएकाहरुलाई घाँटीको स्वाब वा खकार लिएर पिसिआर विधी वा संक्रमितको रगतमा एन्टिबडी हेरेर पनि जाँच गर्न सकिन्छ! देश र सुविधा हेरेर रिपोर्ट लिन केही घन्टादेखि अथवा केही दिन लाग्न सक्छ।
• भाइरसको जिनमा हुने परिवर्तन (म्युटेसन) को कारण सबै ठाऊमा रोगको एकै लक्षण नहुन सक्छ! चीन र हाल युरोप हेर्दा बिरामीको प्रकृति र मृत्युदर फरक हुनुको एउटा कारण यो पनि हुनसक्ने आँकलन गरिएको छ।
कोरोनाको औषधि छ त?
केही औषधिहरू ट्रायलमा छन् तर सिफारिस गर्ने तहमा विकास भएका छैनन्। खोपको परीक्षण पनि यदाकदा सुनिन्छ। तर‚ यसको अहिलेसम्मको उत्तम उपाय भनेको संक्रमण हुन नदिने, अरुलाई नसार्ने र महामारी रोकथाम र उपचारको तयारी गर्ने नै हो।
संसारमा कोरोनाको तथ्यांक के छ त?
• डिसेम्बर २६ मा चीनमा अनौठो न्युमोनियाका ४ बिरामी भेटिए। त्यसको दुई दिनपछि ३ अरु बिरामी भेटिए।
• त्यसको करीब ७ दिनमा छेउको माछा बजार बन्द गरियो र भाइरस पत्ता लगाएर, त्यसको जाँच गर्ने विधि निकाल्दासम्म बिरामीको संख्या करिब २५० को हाराहारीमा पुगिसकेको थियो।
• त्यसको दुई हप्तामा वुहान सहर बन्द गर्ने घोषणा गर्दा बिरामीको संख्या २५०० भन्दा ज्यादा भइसकेको थियो।
• ८३ लाख जनसंख्या भएको सहर तुरुन्तै बन्द गरेर ठूलो प्रयास गर्दा चीनमा संक्रमितको संख्या ८१ हजारको हाराहारीमा पुग्यो।
• इटालीमा फेब्रुअरी १५ देखि देखिएको संक्रमण करीब ६ हप्तामा बढेर ८० हजारभन्दा बढी पुगेको छ।
• संसारका धनी‚ गरीब गरेर करीब १९० देशमा झण्डै साढे साढे पाँच लाखलाई संक्रमण भइसकेको छ। मृत्यु हुनेको संख्या २७ हजार नाघिसकेको छ।
• हाल भएका बिरामीमा ९५% सामान्य अवस्थामा र ५% गम्भीर प्रकृतिका छन्‚ जसलाई आइसियू चाहिन्छ।
• निधो लागिसकेका (मृत्यु वा निको भएका) करीब सवा एक लाख बिरामीमध्ये ८४% निको भएका छन् भने १६% को मृत्यु भइसकेको छ।
• कुनै देशमा प्रकोप छिरिसकेपछि त्यो देशमा संक्रमण हुनसक्ने प्रतिशत २५ देखि ७५% सम्म हुन्छ भनिएको छ।
नेपालको बारेमा कोरोना चित्र के होला त?
• हाम्रै छिमेकी देश चीनबाट सुरु भएको यो भाइरस अहिले संसारका १९० देशमा फैलिसकेको छ। एक हप्ताअघिसम्म विभिन्न देशबाट हवाई मार्गबाट करीब ३००० मानिस आउने देशमा कोरोना छैन होला भन्नु कि त मुर्खता हो‚ कि त झुठ।
• नेपालको कूल जनसंख्या ३ करोडमध्ये करीब २५% लाई संक्रमण भएमा पनि करीब पचहत्तर लाख मनिस संक्रमित हुनसक्ने सम्भवना छ। राज्य वा आम नागरिकको लापरबाहीले यो संख्या बढ्न सक्ला।
• संक्रमितको ५% गम्भीर प्रकृतिका संक्रमित भए भने पनि करीब साढे तीन लाख नेपालीका लागि आइसियू चाहिने अवस्था आउन सक्छ।
• मृत्युदर ४% राख्ने हो भने पनि करीब साढे दुई लाख मानिसको मृत्यु हुन सक्छ।
नेपालको हालको तयारी अवस्था के छ त?
• अरु तीन अस्पतालमा प्रयोगशाला विस्तार गर्ने भनिएको छ, कहिले हुन्छ त्यो भन्न सकिने अवस्था छैन।
• केही अस्पतालमा केही आइसोलेसन बेडहरु तोकिएका छन्।
• काठमाडौंका सबै अस्पतालका आइसियूको संख्या ३०० भन्दा ज्यादा छैन।
• छात्रवृत्तिमा एमडी वा एमएस गरेका डाक्टरले उपचार गर्नुपर्ने भनिएको छ।
• शंकास्पद संक्रमित अस्पताल कसरी र केमा लैजाने कसैलाई थाहा छैन। एम्बुलेन्समा जान चालकलाई खतरा, सार्वजनिक यातायातमा आम नागरिकलाई।
• करीब १५० देशमा संक्रमण भइसकेपछि पनि नेपालको सीमा खुल्ला थियो। जहाँबाट एक साताअघिसम्म हवाई रुट र जमिनबाट नेपाल छिरेका हज्जारौं मानिस पत्ता लगाउने केही उपाय छैन।
• काठमाडौं बन्द भइसक्दा पनि भारतीय सीमाबाट नेपाल आएका हज्जारौं मानिस कहाँ छन्‚ कसैले भन्न सक्ने अवस्था छैन।
• सम्भवतः हाम्रोमात्र यस्तो खुल्ला सीमाना भएको देश होला, जहाँ विमानस्थल लकडाउन भएको बेला पनि एयर कन्ट्रोलरको अनुमतिबिना बिमानल्यान्ड गराएर सयौं यात्रु झारिन्छ।
• अस्पतालमा बेड भनिएको छ, तर उपचार गर्ने स्वस्थ्यकर्मीको सुरक्षाको बारेमा केही बोलिएको छैन।
• मन्त्रीहरुको अन्तरवार्तामा धेरै ठूला कुरा सुनिए पनि अमेरिकाजस्तो देशमा तयारी पुगेन भनिरहेको बेलामा नेपालका निर्णायक तहमा बसेकाहरुलाई यो कुन हदसम्मको समस्या हो र यस्लाई कुन तहको तयारी आवश्यक पर्छ भन्ने कुराको अलिकति पनि ज्ञान भएको आभास हुँदैन।
• सवा तीन करोड जनसंख्यामध्ये ५०० जनामा भएको परीक्षणको परिणाम हेरेर नेपालमा कोरोना छैन भन्ने जुन गफ गरिँदैछ, यसले भुसमा बलेको आगोजस्तो संक्रमण फैलिएको त छैन? भन्ने ठूलो आशंका दिएको छ।
• एउटा कोरोना संक्रमितको प्रचार गर्न सयौं पत्रकार जम्मा गर्न सरकार नै लागिपरेको छ। पत्रकार पनि हुल बाँधेर लागिपरिरहेका छन्। विपद व्यवस्थापनमा सरकारी स्तरमा भएका र सूचना प्रवाह गर्ने तहमा कतिसम्म गाम्भिर्यता र दिमाग छ, त्यो यही कुराले प्रमाणित गर्छ।
• क्वारेन्टाइनमा भएका मानिसहरु प्रहरीको आँखा छलेर भागेको भिडियो सार्वजनिक भएको छ। लकडाउनमा मानिसहरू घुम्न, पिकनिक खान गइरहेका छन्। जनमानसलाई यो कति घातक हो भन्ने कुराको हेक्का छैन।
स्वास्थ्यकर्मीको सुरक्षा सवाल किन महत्वपुर्ण छ?
• एक संक्रमित व्यक्तिले आफ्ना घरपरिवार वा साथीहरू र अन्यलाई पनि सार्न सक्ला‚ तर एक संक्रमित स्वास्थ्यकर्मीले सयौं स्वस्थ मानिसलाई संक्रमण सार्न सक्छ। त्यसैले स्वास्थ्यकर्मीमा संक्रमण नहुनु ज्यादा जरुरी हुन्छ।
• सुरक्षा कवच नदिएर जबरजस्ती काम गर्दा देशका नागरिकमा संक्रमण फैलनुअघि नै सबै स्वास्थ्यकर्मी महामारीको चपेटमा परे भने के गर्ने? उपचार कसले गर्ने?
अन्य देशमा के गरिरहेका छन्?
• चीनमा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा छ। उनीहरुले सबै शक्ति लगाएर उपचार गर्ने, ६० लाखभन्दा ज्यादा मानिसलाई लक डाउन गर्नेदेखि सबै प्रयास गरे।
• सुरुवाती चरणमा बेवास्ता गरेका कारण इटाली, ईरान र अमेरिकाले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। अमेरिकामा शुक्रबारमात्र एक दिनको संक्रमित संख्या १७ हजारभन्दा बढी रहेको छ। अमेरिकामा अझै पनि मानिसहरू लकडाउनलाई हेल्चेक्र्याईंको रुपमा लिइरहेका छन्। त्यसैले स्थिति झन् भयावह बन्दै गएको छ।
• नेपालसँग खुल्ला सिमा भएको भारतमा संक्रमण बढ्दो क्रममा छ। भारतको संक्रमण हाम्रो लागि ठूलो चासो र चिन्ताको विषय हो।
• कोरियामा केही साता संक्रमितको संख्या ह्वात्तै बढ्यो। त्यसपछि सरकारले प्रायः सबै जनाको टेस्ट गर्दै संक्रमितलाई आइसोलेसन गरेर अहिले नियन्त्रण भएको छ।
अब हामीले के गर्ने त?
संक्रमण सर्न नदिने केही प्रभावकारी विधिहरु भनेको हात धुने र सामाजिक दूरी कायम राख्ने नै हो। रुघाखोकी र ज्वरो आएमा घरमा एक्लै बस्ने। स्वास फेर्न गाह्रो भएमा अस्पताल जाने।
राम्रोसँग साबुन पानीले दिनमा पटक-पटक हात धुने, खोक्दा कुहिनुमा मुख लुकाएर खोक्ने। अत्यावश्यक बाहेक कसैसँग भेट्घाट नगर्ने। घरको ढोकाको ह्यान्डल स्पिरिट्ले सफा गर्ने आदि। इमर्जेन्सीबाहेक अरु समय अस्पताल कुनै हालतमा नजाने।
हाम्रोजस्तो सुनदेखि नुनसम्म माग्ने देशमा ७५ लाख संक्रमित हुनसक्ने वा ४ लाख सिकिस्त हुनसक्ने महामारी आउनु भनेको देश नै सखाप हुने स्थिति हो। त्यसैले घरभित्र बसौं, कुनै हेल्चेक्र्याईं नगरौं, समाजिक दूरी कायम गरौं, हात धुन नबिर्सौं।
हामीले राम्रोसँग सामाजिक दूरी कायम गरे संक्रमित संख्यामा पनि कमी आउँछ, जसले गर्दा उपचार गर्न वा निगरानीमा राख्न सजिलो हुन्छ।
घरमै बसौं, महामारीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔं।
कहिले सकिन्छ?
यसको उत्तर सहज छैन। केही हप्तामा नियन्त्रण हुने भन्नुको मतलब उन्मुलन हुने भन्ने होइन। अहिलेसम्म सबैले मान्दै आएको कुरा के हो भने, एक पटक लागेपछि फेरि लाग्दैन, किनभने हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ।
यस्तो सोचाइ सबै ठाउँम ठिक भने हुँदैन। जबसम्म यसको प्रभावकारी खोप बन्दैन‚ तबसम्म यसको नियन्त्रण हुन गाह्रो हुन्छ। त्यसैले यो कठिन समय दई हप्तासम्मका लागि पनि हुनसक्छ वा दुई वर्षसम्म पनि लम्बिन सक्ने अवस्था आउन सक्छ।
(तथ्यांकहरु इन्टरनेट र कोरोनासम्बन्धी अमेरिकाको सिडिसीबाट लिइएका हुन्)