काठमाडौं – चीनबाट सहयोग स्वरुप आएका मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन्।
उक्त कार्यक्रममा राजदूत यान्छीले नेपाललाई आवश्यक परे चिकित्सक समेत सहयोगका लागि बोलाउन सक्ने जानकारी दिइन्।
सरकारले निजी कम्पनीसँग किनेको र चीनले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामाग्रीसहित आइतबार बिहानै नेपाल वायुसेवा निगमको विमान बाट नेपाल ल्याइएको थियो।
पहिलो चरणमा चिनियाँ पक्षबाट नेपालले पाएका मेडिलक सहयोगमा चीन सरकार भन्दा त्यहाँका व्यापारिक समूबाट प्राप्त सहयोग धेरै छ।
नेपाल वायु सेवा निगमको विमान शनिबार चीनको ग्वाङ्झाओबाट उक्त सहयोग ल्याएको हो।
सरकारी तहमा नेपाललाई काठमाडौंस्थित चिनियाँ दूतावास र सिचुवानबाट प्राप्त सरकारबाट सहयोग प्राप्त भएको हो। त्यस्तै निजी क्षेत्र अन्तर्गत व्यापारिक समूहरु अलिबाला फाण्डेसन, ज्याक्मा फाउन्डेसन, चाइना इन्जिनियरिङ लिमिटेड, सिचुवान ह्वाङ्सी ग्रुप र ह्वाङ्सी सिमेन्टले सहयोग प्रदान गरेका हुन्।
कसले कति दिए?
चिनियाँ दूतावास र सिचुवान प्रदेश सरकारले नेपालालई एन–९५ मास्क २ हजार, डिस्पोजेबल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, ग्लोब्स ५ सय, इन्फ्रारेड थर्मोमिटर १०० थान, पोटेक्टिभ क्लोथ ५ सय ३० र एक थान पोर्टेबल भ्यान्टिलेर लगायत रहेको छ।
त्यस्तै अलिबाला फाण्डेसन र ज्याक्मा फाउन्डेसनले एकलाख एन–९५ मास्क र २० हजार पीसीआर मेसिन दिएको छ ।
चाइना इन्जिनियरिङ लिमिटेड, सिचुवान ह्वाङ्सी ग्रुप र ह्वाङ्सी सिमेन्टले पनि विभिन्न मेडिकल सामग्री दिएका छन् ।
चिनियाँ दूतावासले दोस्रो चरणको सहयोग अप्रिल २ मा आइपुग्ने बताएको छ ।
नेपालले मागेको सहयोग
नेपालले कोरोना संक्रमणको उपचारका लागि आवश्यक मेडिकल सामग्रीका लागि चीन सरकारलाई आग्रह गरेको थियो ।
नेपालले गत हप्ता कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची चीनलाई बुझाएको थियो।
स्वास्थ्य मन्त्रालयले आवश्यक सूचि बनाएपछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत चीनसँग २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान मागेको थियो ।
त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत नेपालले चीनसँग मागेको थियो।

