काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दोस्रो र तेस्रो कोरोना संक्रमितको मंगलबार पुनः कोरोना परीक्षण गर्ने तयारी भएको छ।
उनीहरुको कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए ।
फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र युएईबाट काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो। काठमाडौंकी १९ वर्षीय युवती चैत ४ र धादिङका पुरुष चैत ६ गते नेपाल फर्किएका थिए।
उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा भण्डारीले बताए ।
उनले भने, ‘उहाँहरु दबैको स्वास्थ्य अवस्था अहिले सामान्य छ। हामीले पुनः कोरोना परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी गरेका छौ।’ टेकु अस्पतालमा उनीहरु सहित चार जना आईसोलेसनमा भर्ना भई उपचार गराइरहेका छन्।
नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाको आशंकामा हालसम्म ९ सय ९३ जनाको परीक्षण भएका छन्।